Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । भारतको एक अदालतले कपिलवस्तुको तौलिहवा निवासी एक व्यक्तिलाई २० वर्ष जेल सजाय तोकेको छ ।
भारतको उत्तर प्रदेश राज्यस्थित बलरामपुरको विशेष सत्र न्यायाधीश (पोक्सो एक्ट) दीप नारायण तिवारीले बलात्कार मामिलामा नेपाली नागरिक सुनिल पाठक उर्फ राज पण्डितलाई २० वर्ष जेल सजाय निर्धारण गरेका हुन्। अदालतले सुनिललाई ११ हजार रुपैयाँ जरिबानाको फैसलासमेत सुनाएको छ ।
२५ अक्टोबर २०२३ मा उनले एक नाबालिगलाई बलात्कार गरेको बताइएको छ । पीडित किशोरीका पिताले दिएका उजुरीका आधारमा प्रहरीले सुनिलविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको थियो । पीडित पक्षकातर्फबाट अदालतमा सात साक्षी उपस्थित गराइएको थियो ।
अदालतले सुनिललाई दोषी ठहर गर्दै २० वर्ष जेल र ११ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जरिबानाबापतको रकम तिर्न नसकेको खण्डमा थप एक वर्ष जेल सजाय हुने अदालतको फैसला छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij