
Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष लागेपछि पनि लगातर तरलता प्रशोचन गरिरहेको छ । अधिक तरलता र बजारमा कर्जाको माग न्यून हुँदा आर्थिक वर्षको सुरुवातबाट नै केन्द्रीय बैंकले लगातार तरलता प्रशोचन गरिरहेको छ ।
केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन बोलकबोल मार्फत ४२ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो २ आर्थिक वर्षदेखि नै लगातार तरलता प्रशोचन गरिरहेको केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा पनि सुरुबाटै तरलता प्रशोचन गर्न लागेको हो ।
चालु आर्थिक वर्ष सुरु भएपछि अघिल्लो २ सातामा ४ पटक निक्षेप संकलन उपकरण बोलकबोल भइसकेको छ । जसबाट १ खर्ब ७७ अर्ब तरलता प्रशोचन भइसकेको छ ।
आइतबार पुनः ५० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । उक्त बोलकबोल मार्फत् ४२ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत तय हुनेछ । बैंकहरुमा निक्षेपको तुलनामा कर्जा लगानी न्यून हुँदा अधिक तरलताको चाप बढिरहेको छ ।
लगानी गर्न नसकेपछि साढे ६ खर्ब रुपैयाँभन्दा धेरै रकम बैंकहरुले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमा लगानी मार्फत राष्ट्र बैंकमा राखेका छन् । १४ साउनको तथ्यांक अनुसार बैंकहरुले लगानी गर्न नसकेर राष्ट्र बैंकमा राखेको रकम ६ खर्ब ५२ अर्ब १० करोड छ । आइतबार थप ८० अर्ब तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले बोलकबोल आह्वान गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij