Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट सुनको ‘नक्कली बिस्कुट’ देखाएर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर २७ मा कोटेश्वरस्थित इलामेली गेष्ट हाउसबाट आरोपीहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ घर भएर कोटेश्वर बस्ने ३५ वर्षीय लिलबहादुर परियार, मकवानपुर घर भएका ५६ वर्षीय अक्कलबहादुर तामाङ, झापाको बाह्रदशी गाउँपालिका घर भएका ४४ वर्षीय दीपक तामाङ, ४२ वर्षीया पम्फा तामाङ, ४७ वर्षीय दुर्गा भुजेल र ४० वर्षीया मालती भुजेल रहेका छन् ।
आरोपीहरुको साथबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ वटा सुनको ‘नक्कली बिस्कुट’ सहित ९४ हजार नगद र १० रूपैयाँ दरको १ सय २ थानको एक बन्डल नगद बरामद गरेको छ । आरोपीहरुलाई प्रहरी वृत गौशालाले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij