Jun 04 2026 | २०८३, जेठ २१ गते
वागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार ६ जनालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का र रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी) बाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल छन् ।
कांग्रेसका जोशीले स्वास्थ्य, खड्काले वन तथा वातावरण र महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै, एकीकृत समाजवादीका डा. श्रेष्ठले कृषि तथा पशुपन्छी विकास र लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्।
कांग्रेसका चित्रकारलाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
यसअघि २०७९ पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए। त्यति वेला नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा सहभागी भएका थिए । केन्द्रमा गठबन्धन बदलिएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए। रिक्त पदमा नयाँ मन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री जम्कट्टेलले गत चैत १० मा विश्वासको मत लिएका थिए। त्यससँगै चैत २६ मा कांग्रेसबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानूनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij