Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा उनीहरूले गंगादेवी गाउँपालिका–२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी योजना निर्माण गर्दा अनियमितता गरेको थियो । अख्तियारले चार लाख ६६ हजार ४८८ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
गंगादेवी गाउँपालिकाका योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी, सव–इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाई टेक्निसियन बलबहादुर बस्नेतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नं.२ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका बि.क., वडा नं.२ का तत्कालीन वडा सदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । अख्तियारले दायर गरिएको मुद्दामा प्रत्येकसँग चार लाख ६६ हजार ४८८ रुपैयाँ बिगो दाबी गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij