Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । एकीकृत समाजवादी ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वास मत दिने भएको छ। यही असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्रीले राखेको विश्वासको मत प्रस्तावको पक्षमा मत दिने एकीकृत समाजवादीको तयारी रहेको छ। आइतबार बसेको केन्द्रीय कमिटीको बैठकपछि नेता जगन्नाथ खतिवडाले अहिलेको सरकारलाई विश्वास मत दिने बताए।
‘सुन्दैछौं असार २८ गते सरकारले विश्वास मत लिन्छ। स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वास मत प्राप्त गर्दैन। सरकार ढल्छ,’ खतिवडाले भने, ‘हामी सरकारलाई विश्वास मत दिन्छौं।’
यसअघि गत शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि अध्यक्ष माधवकुमार नेपालले पनि सरकारलाई विश्वास मत दिने बताएका थिए।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार बनाउने सहमति भएकोप्रति लक्षित गर्दै अध्यक्ष नेपालले त्यो समीकरणमा नजाने बताएका थिए।
‘त्यो षड्यन्त्रमुलक ढंगले आएको छ। हामी यो सरकारले विश्वास मत लिँदा त्यसलाई साथ दिन्छौं,’ उनले भनेका थिए। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij