Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ। भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी २०६ केन्द्रीय सदस्य थप गर्न लागेको हो ।
पार्टीमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता, घनश्याम भुसाललाई महासचिव र ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो। हाल पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन्।
सातै प्रदेशका इन्चार्ज र सचिवलाई सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा सिफारिस गर्न पार्टीले निर्देशन दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए। वर्तमान केन्द्रीय कमिटीले सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा नयाँ केन्द्रीय सदस्य छनोट गर्नेछ।
पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एक सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ। सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५(४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ। केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि कार्यविधि तथा मापदण्ड बनाएर केही नेताहरूलाई पदाधिकारीको जिम्मेवारी तोकिने नेता पाण्डेले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij