Jun 04 2026 | २०८३, जेठ २१ गते
चितवन । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो ।
शनिबारदेखि लागु हुनेगरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) रू ३ हजार ६ सय र मझौलाको रू ३ हजार ५ सय कायम गरिएको छ । योसँगै किसानले लागत मूल्य पाउने भएका हुन् । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलब ५६ पर्न आउँछ । यससँगै खुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ ।
नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार किसानले मूल्य बढेसँगै लागत मूल्य पाउनेभएका हुन् । उहाँका अनुसार दाउन्ने एग्रोफार्म, हिमचुुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौँको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी ठूलो अण्डा प्रतिपेटी रू तीन हजार सात सय ५० देखि रू तीन हजार सात सय ८० सम्म र मझौलाको रू तीन हजार छ सय ५० देखि रू तीन हजार छ सय ८० सम्म प्रतिपेटी दररेट कायम गरेका छन् ।
पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको हो । किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश बढ्ने देखिन्छ”, उहाँले थप्नुभयो, “अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।”
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “अण्डा हुनेले अब लागत मूल्य पाउने भएका छन् ।”
नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कुखुरापालक किसान त्रिलोचन कँडेलले बताउनुभयो । गतवर्ष पनि पुस महिनामा चार पटक अण्डाको मूल्य वृद्धि भएको थियो । कँडेलले भन्नुभयो, “अब किसानले लागत मूल्य पाएनन् भने बाँकी रहेका किसान विस्थापति हुन्छन् । ”
–––
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij