
May 08 2025 | २०८२, वैशाख २५ गते
प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन् ।
काठमाडौँ । वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन् ।
वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरी प्रसाद पोख्रेललाई हातपात गरेका हुन् ।
महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए ।
प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्दा साथ वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ । वडाध्यक्षले उक्त समयमा मादक पदार्थसमेत सेवन गरेको पोख्रेलको दाबी छ ।
उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध ४ संगठनले मंगलबार मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई २४ घन्टे अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका थिए ।
स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकिकृत सरकारी कर्मचारी संगठनले संयुक्त रुपमा ध्यानाकर्षण बुझाउँदै कर्मचारी माथि हातपात गर्ने वडाध्यक्ष लाई कारबाही गर्न माग गरेको हुन् । तर, २४ घन्टासम्म पनि कुनै सुनुवाई नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका हुन् ।
स्थानीय तह कर्मचारी संघका रेशम जिसीले कर्मचारीको सुरक्षाको ज्ञारेन्टीको माग गर्दै आन्दोलनको कार्यक्रम गरिएको बताए । उनले आज पनि सुनुवाई नभए थप आन्दोलन गरेर अगाडि बढ्ने चेतावनी दिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले बिहीबार बिहान दुवै पक्षको लागि छलफल बोलाइएको बताए । ‘दुवै पक्षको छलफलका लागि भोलि बिहान बैठक बोलाएका छौं । छलफलबाटै यो विषयको टुंगो लाग्छ,’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij