
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा जारी जी-७ शिखर सम्मेलन बीचैमा छोडेर वाशिंगटन फर्कदै छन् । ह्वाइट हाउसले यो जानकारी दिएको छ ।
“राष्ट्रपति ट्रम्पको जी-७ मा दिन अद्भुत रह्यो, बेलायत र प्रधानमन्त्री केयर स्टारमरसँग एउटा प्रमुख व्यापार सम्झौतामा पनि हस्ताक्षर गरे,” ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले एक्समा लेखिन् ।
जी-७ शिखर सम्मेलनको क्रममा भएको बैठकमा ट्रम्प र केयर स्टारमरले अमेरिका र बेलायतबीचको ट्यारिफ सम्झौतामा हस्ताक्षर गरेका छन् ।
“धेरै कुरा पूरा भयो तर मध्यपूर्वमा जारी तनावका कारण राष्ट्रपति ट्रम्प आज राति राष्ट्र प्रमुखहरूसँग रात्रिभोज पछि घर फर्कनेछन्,” लेभिटले ट्रम्पको फिर्ताको घोषणा गर्दै लेखिन् ।
इजरायल र इरानबीचको द्वन्द्व तीव्र भएको छ, यसैबीच ट्रम्प सोमबार राति (क्यानडाको स्थानीय समय) जी-७ शिखर सम्मेलनको एक दिन अघि फर्कने खबर आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij