
Aug 26 2025 | २०८२, भदौ १० गते
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईको पहल गरिदिन जोर्डनका राजालाई पत्राचार गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले आइतबार जोर्डनका राजा अब्दल्लाह द्वितीयलाई पत्र लेख्दै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशक्य पहल गरिदिन अनुरोध गर्दै उनले यस प्रयोजनका लागि चाल्नुहुने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् । यसका अतिरिक्त उक्त पत्रमा राष्ट्रपति पौडेलले नेपाल र जोर्डनबीच कायम रही आएको असल र मित्रवत सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्नुहुँदै दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनको लागि नेपाल सदैव प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गरेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, पत्रमा राष्ट्रपति पौडेलले राजा अब्दल्लाहले खाडी क्षेत्र र विश्वमा मानवीय मूल्य, द्वन्द्व व्यवस्थापन तथा अन्तर-साँस्कृतिक सौहार्दता कायम गर्न खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै नेपाल र जोर्डनबीच व्यापार, लगानी, पर्यटन, श्रम आप्रवासन, साँस्कृतिक आदान-प्रदान तथा जनस्तरको सम्बन्ध विस्ता
२- भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरु पहिचान गरी अघि बढ्नेबारे पनि छलफल भएको छ । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको सहभागिता थियो ।
३- यातायात व्यवस्था विभागले आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने स्पष्ट गरेको छ । विभागले मंगलबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश: जोड्दै लैजाने निर्णय भएको भए पनि असोज १ गतेदेखि जडान नगरे कारबाही नहुने स्पष्ट गरेको हो । असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने विभागले उल्लेख गरेको छ । विभागले भनेको छ- 'इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश: जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गते देखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारवाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ।साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत अनुरोध गरिन्छ । विभाग एवं प्रदेश कार्यालयहरुबाट जडानमा सहजताका लागि उक्त स्थानहरुमा पुर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीधनीहरुको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै लगिएको व्यहोरा अनुरोध छ ।'
४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ गभर्नर लिसा कुकलाई पदबाट हटाएका छन् । ट्रम्पले कुकले पदबाट हटाएको पत्रमा धितो सम्बन्धी कागजातहरूमा गलत जानकारी प्रदान गरेको आरोप लगाउदै संविधान अन्तर्गत यो कारबाही गर्ने अधिकार आफूसँग भएको उल्लेख गरेका छन् । कुकले यो निर्णयलाई गैरकानूनी भनेकी छन् भने राष्ट्रपतिलाई उनलाई बर्खास्त गर्ने अधिकार नभएको र उनले राजीनामा नदिने बताएकी छन् । अमेरिकी राष्ट्रपतिले संघीय रिजर्भ गभर्नरलाई हटाउने प्रयास गरेका यो पहिलो पटक हो । यसले केन्द्रीय बैंकको स्वतन्त्रता र राष्ट्रपतिको अधिकारमाथि ठूलो विवाद निम्त्याएको छ । जुलाईको अन्त्यमा भएको संघीय रिजर्भको अन्तिम बैठकमा लिसा कुक, जेरोम पावेल र बोर्डका अधिकांश अन्य सदस्यहरूले अमेरिकी ब्याजदर कायम राख्ने पक्षमा मतदान गरेका थिए । ट्रम्पले केन्द्रीय बैंकलाई ब्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन् र यसले टकरावको अवस्था कायमै रहेको छ । पुर्व राष्ट्रपति जो बाइडेनले २०२२ मा लिसा कुकलाई गभर्नरमा नियुक्त गरेका थिए । उनी यस पदमा सेवा गर्ने पहिलो अफ्रिकी-अमेरिकी महिला हुन् ।
५- गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ ।नेपाल–चीनबीचको व्यापारको लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकि“दो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात÷निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल पुनर्निमाणको पहल गर्न सरकारसमक्ष आग्रह गरेको हो । चेम्बरले नजिकिदै गरेको चाडपर्वका बेला उद्योगी, व्यवसायी तथा आम उपभोक्ता प्रत्यक्ष प्रभावित भएको र यसले मुल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराएको छ । लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ र अन्य आवश्यक सामग्रीहरुको आयात अवरुद्ध भएकाले बजारमा सम्भावित अभाव सिर्जना हुने जोखिम बढेको चेम्बरले जनाएको छ ।
६- राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेको मात्र मनोनयन दर्ता भएको छ ।संघीय संसद सचिवालयले आज दिउसो ४ बजेसम्म दिएको समयमा न्यौपानेको मात्र उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ।न्यौपानेको प्रस्तावकमा कांग्रेसका सांसद रामहरी खतिवडा रहेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ रहेको संसद सचिवालयले जानकारी दिएको छ । एक मात्र उम्मेदवारी परे पछि अब न्यौपाने सभापति हुने निश्चित भएको छ। अब बुधबार दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले न्यौपानेलाई सभापतिमा निर्वाचित गर्ने प्रस्ताव पेश हुने भएको छ ।
७- दक्षिणी अफ्रिकी देश बोत्सवानाले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । बोत्सवानाले आवश्यक औषधि र चिकित्सा उपकरणको अभावको सामना गरेपछि देशमा स्वास्थ्य आपतकाल घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ । राष्ट्रपति डुमा बोकोले टेलिभिजन सम्बोधन गर्दै देशमा स्वास्थ्य आपतकालको घोषणा गरेका हुन् । उनले आपूर्ति शृङ्खला ठीक गर्न सैन्य निगरानीसँग सम्बन्धित योजना प्रस्तुत गरेका छन्, जसको लागत करोडौं रहेको बताइएको छ । देशलाई सम्बोधन गर्दै राष्ट्रपतिले सरकारसँग पैसाको अभाव रहेको र देशमा औषधि र चिकित्सा सेवाहरूको लागि कठिन समय भएको बताएका छन् ।अन्तर्राष्ट्रिय हीरा बजारमा आएको गिरावटले बोत्सवानाको अर्थतन्त्र नराम्ररी प्रभावित भएको बताइएको छ । बोत्सवाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादकहरू मध्ये एक हो । मिडिया रिपोर्टहरूका अनुसार, यसका कारण, २५ लाख जनसंख्या भएको बोत्सवानाको ठूलो हिस्सा बेरोजगारी र गरिबीसँग संघर्ष गरिरहेको छ ।
८- आज नेप्सेमा परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
९- दक्षिणी गाजाको खान युनिसमा रहेको नासेर अस्पतालमा सोमबार इजरायली आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भयो । मृतकहरूमा अन्तर्राष्ट्रिय मिडियाका लागि काम गर्ने पाँच पत्रकार पनि मारिएका छन् । यो जानकारी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको छ । विश्व स्वास्थ्य संगठनले आक्रमणमा चार स्वास्थ्यकर्मीको पनि मृत्यु भएको बताएको छ । आक्रमणको फुटेजले विस्फोटपछि उद्धारकर्मीहरू घटनास्थलमा पुग्दा अर्को विस्फोट भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसलाई 'दुःखद दुर्घटना' भनेका छन् र सैन्य अधिकारीहरूले 'यसको राम्ररी अनुसन्धान गरिरहेको' बताएका छन् । मृत्यु भएका पत्रकारहरूले रोयटर्स, एपी, अल जजीरा र मिडल इस्ट आईका लागि काम गर्थे खुलेको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि गाजामा मारिएका पत्रकारहरूको संख्या अहिले लगभग २०० पुगेको छ । प्रेस स्वतन्त्रताको प्रवर्द्धन गर्ने एक अग्रणी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार गाजामा युद्ध पत्रकारहरूका लागि घातक साबित भएको छ । युद्ध सुरु भएदेखि नै इजरायलले अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजा पट्टीमा स्वतन्त्र रूपमा प्रवेश गर्न प्रतिबन्ध लगा
१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान भण्डारीको निवास भंगालमा रास्वपा प्रवक्ता झाले भण्डारीसँग लगभग डेढ घण्टा छलफल गरेको जानकारी दिएका हुन् । झाले एउटा राजनीतिक शिष्टाचार भेटघाट रहेको बताउदै कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट भएको बताएका छन् । झाले भेटपछि वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा भण्डारीको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भएको जानकारी दिए । उनले सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति भण्डारीले सरोकार राखेको र रविप्रति सद्भाव रहको बताएको उल्लेख गरेका छन् । भण्डारीले भेटमा नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो हो र त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार रहेको बताएको झाले जानकारी दिए ।
११- नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जितेको छ । नेपालले एसिटीविरुद्धको दोस्रो खेल ६ विकेटले जितेको हो ।एसिटीले दिएको ९७ रनको लक्ष्य पछाएको नेपालले १३.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि एसिटीले पहिला ब्याटिंग गर्दै १७.२ ओभरमा अलआउट हुदै ९६ रन बनाएको थियो । यसअघि आजै सम्पन्न एसिटीविरुद्धको पहिलो खेल नेपालले ४१ रनले जितेको थियो । नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया- इएपी छनौट को तयारीका लागि यी अभ्यास खेलिरहेको क्यानले बताएको छ । नेपाली टिमले अब साउथ अस्ट्रेलियासँग २ टी-२० र एक एकदिवसीय खेल खेल्ने छ । नेपाली टिमले साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ, जुन बिहान ५: ४५ र ९: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।
१२- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँएको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
१३- अमेरिकाका प्रसिद्ध स्ट्यान्ड-अप कमेडियन रेजिनाल्ड 'रेगी' क्यारोलको मिसिसिपीमा गोली हानी हत्या गरिएको छ । ५२ वर्षीय हास्य कलाकारको मृत्युको खबरले कमेडी उद्योग र उनका फ्यानहरूलाई स्तब्ध बनाएको छ । कमेडी दुनियाँमा आफ्नो अनौठो शैली र रमाइलो कमिक टाइमिङका लागि परिचित रेजिनाल्ड क्यारोललाई मिसिसिपीको बर्टन लेन क्षेत्रमा गोली हानी हत्या गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । प्रहरीका अनुसार क्यारोललाई गम्भीर अवस्थामा अस्पताल लगिएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको थियो । साउथहेवन प्रहरीले घटनाको पुष्टि गर्दै एक संदिग्धलाई पक्राउ गरिएको बताएको छ । यद्यपि, यो घटनाको कारण अझै स्पष्ट छैन । क्यारोलको मृत्युका कारण अमेरिकाको कमेडी दुनियाँ शोकमा डुबेको छ ।
१४- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानको माग तुरुन्त पुरा गर्न सरकारसँग आग्रह गरेका छन् । नेता कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? भन्ने प्रश्न गर्दै उखु किसानको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भनेका छन्- खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दुध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ? कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? उखुको बोट सहित किसान सडक आन्दोलनमा आउँनु अत्यन्त दुःखद स्थिति हो । उनीहरुको माग तुरुन्त पुरा गरौं ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १५ सयले बढेर तोलाको एक लाख ९८ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९७ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो ।
१६- अष्ट्रेलियाले इरानी राजदुत अहमद सदेगीलाई निष्काशित गरेको छ । अस्ट्रेलियाले आफ्नो भूमिमा कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणमा इरानको हात रहेको पुष्टि भएको भन्दै राजदुत सदेगी र उनका तीन सहकर्मीहरूलाई व्यक्तिगत रूपमा गैर-अनुचित व्यक्ति घोषित गरेर सात दिन भित्र देश छोड्न आदेश दिएको हो । अस्ट्रेलियाको गुप्तचर निकायले अष्ट्रेलियाको भूमिमा कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणमा इरानको हात रहेको पत्ता लगाएको प्रधानमन्त्री एन्थोनी अल्बानीजले जानकारी दिएका छन् । अष्ट्रेलियाको सुरक्षा गुप्तचर संगठनले गत वर्ष सिड्नीमा रहेको यहूदी स्वामित्वको रेस्टुरेन्ट र मेलबर्नमा रहेको अडास इजरायल सिनागोगलाई लक्षित गरी भएको दुईवटा आगजनीको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको भूमिका रहेको विषय अनुसन्धान गरेको थियो । दोस्रो विश्वयुद्ध पछि अष्ट्रेलियाले विदेशी राजदूतलाई निष्कासन गरेको यो पहिलो पटक हो । अष्ट्रेलियाले आफ्ना कन्सुलर अधिकारीहरूको सुरक्षाका लागि इरानमा रहेको आफ्नो दूतावासमा सञ्चालन पनि स्थगित गरेको छ, र इरानमा रहेका अष्ट्रेलियालीहरूलाई देश छोड्न आग्रह गरिएको छ ।
१७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र बारे आफ्नो धारणा स्पष्ट गरेको छ । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गरेको स्पष्ट गर्दै प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न माग गरेका छन् । रास्वपाको विज्ञप्ति: नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमाल झै अडिग रहेको छ । नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गर्दछ । अपितु, गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनबीच नेपाली भुभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौत
१८- ब्राजिलका प्रशिक्षक कार्लो एन्सोलोट्टीले नेइमार, भिनिसियस् जुनियर,रोड्रीगो र एडर मिलिटाओ जस्ता खेलाडीलाई बाहिर राखेर ब्राजिलको राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन् । ब्राजिलको विश्वकप छनौटका अन्तिम दुई खेलका लागि चिली र बोलिभियाविरुद्ध खेल्ने टिमको घोषणा गरेका हुन् । त्यस्तै एन्सोलोट्टीले लुकास पाक्वेटा, काइओ जोर्ज, मार्किन्होस, ब्रुनो गुइमारेस, जोएलिन्टन, राफिन्हा र रिचार्लिसनजस्ता खेलाडी टिममा सामेल गरेका छन् । त्यस्तै चेल्सीका युवा खेलाडी एस्टेभाओलाई टिममा समावेश गरिएको छ । ब्राजिल २०२६ को विश्वकपमा छनौट भइसकेको छ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटको अन्तिम खेलमा ब्राजिलले सेप्टेम्बर ४ मा चिलीसँग र बोलिभियासँग सेप्टेम्बर ९ मा खेल्ने तालिका रहेको छ । ब्राजिल टिम: गोलकिपर: एलिसन (लिभरपुल), बेन्टो क्रेप्सकी (एन नासर), ह्युगो सुजा (कोरिन्थियन्स) । डिफेन्डर: अलेसेन्ड्रो (लिले), एलेक्स स्यान्ड्रो (फ्लेमेन्गो), कायो हेनरिक (मोनाको), डगलस सान्तोस (जेनिट), फाब्रिसियो ब्रुनो (क्रुजेइरो), गेब्रियल म्यागाल्हेस (आर्सनल), मार्किन्होस (पीएसजी), वान्डरसन डे ओलिभेरा (मोनाको), वेस्ले फ्रान्का (रोमा) । मिडफिल्डर: आन्द्रे सान्तोस (चेल्सी), ब्रुनो गुइमारेस (न्यूकासल), कासेमिरो (म्यानचेस्टर युनाइटेड), जोलिन्टन (न्यूक्यासल), लुकास पाक्वेटा (वेस्ट ह्याम) । फरवार्ड: एस्टेभाओ (चेल्सी), गेब्रियल मार्टिनेली (आर्सनल), जोआओ पेड्रो (चेल्सी), काइओ जर्ज (क्रुजेरो), लुइस एनरिक (जेनिट), माटेस कुन्हा (म्यानचेस्टर युनाइटेड), राफिन्हा डियाज (बार्सिलोना), रिचार्लिसन (टोटेनहम) ।
१९- अमेरिकाले बुधबार, अगस्ट २७ देखि भारतीय आयातमा थप २५ प्रतिशत भन्सार कर लगाउने तयारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेश अन्तर्गत यो कदम चालिएको हो । अमेरिकाले भारतले रुसबाट निरन्तर तेल खरिद गर्नु राष्ट्रिय सुरक्षाको लागि चिन्ताको विषय भएको बताउदै आएको छ । अमेरिकी गृह सुरक्षा विभागले भन्सार तथा सीमा सुरक्षा मार्फत सार्वजनिक सूचना जारी गर्दै यो नयाँ भन्सार करको बारेमा जानकारी दिएको छ । ट्रम्पको यो कदमको उद्देश्य रुससँग अझै पनि व्यापार सम्बन्ध कायम राख्ने देशहरूमाथि दबाब बढाउनु हो । अगस्टमा नै ट्रम्पले भारतीय आयातमा कुल भन्सार कर दर दोब्बर गरी ५० प्रतिशत पुर्याएका थिए । त्यसको लगत्तै भारतको विदेश मन्त्रालयले प्रतिक्रियामा यो कार्य अनुचित, अनुचित र तर्कहीन रहेको बताएको थियो ।
२०- एलन मस्क एप्पल र ओपन एआईविरुद्ध अदालतमा गएका छन् । मस्कले सोमबार टेक्सासको अदालतमा एप्पल र ओपनएआईविरुद्ध ६१ पृष्ठको ठूलो मुद्दा दायर गरेको मिडिया रिपोर्टमा उल्लेख छ । मस्कले एप्पल र ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा आफ्नो प्रतिद्वन्द्विता अन्त्य गर्न खोजिरहेको आरोप लगाएका छन् । मुद्दामा दुई ठूला कम्पनि एप्पल र ओपनएआईले आफ्नो पकड बलियो बनाउन एआई प्रविधिलाई नियन्त्रण गर्ने षड्यन्त्र गरेको उल्लेख मस्कको आरोप छ । मस्कले एप्पलले एआईलाई आफ्नो सबैभन्दा ठूलो राजस्व कमाउने आईफोनको लागि खतरा मानेको र त्यसैले ओपनएआईसँग मिलेर च्याटजीपीटीलाई प्रवर्द्धन गरिरहेको आरोप पनि लगाएका छन् । मुद्दामा एप्पलले ओपनएआईको च्याटजीपीटीलाई आफ्नो आईफोनको एप स्टोरको शीर्षमा अनुचित रूपमा राखेको छ र आफ्नो प्रतिस्पर्धी एक्स एआईको ग्रोक च्याटबटलाई दबाउन षड्यन्त्र गरेको मस्कको आरोप छ । मस्कले यसअघि पनि एप्पलमाथि कम्पनीले आईफोनको एप स्टोरमा च्याटजीपीटीलाई प्राथमिकता दिएको र आफ्नो एआई च्याटबट ग्रोकसँग भेदभाव गर्ने आरोप लगाएका थिए । यो नयाँ मुद्दामा, मस्कका कम्पनीहरू एक्स एआइ र एक्स क्रोपले संयुक्त रूपमा यस अनुचित व्यवहारविरुद्ध आर्थिक क्षतिपूर्ति र अदालती कारबाहीको माग गरेका छन् । मुद्दामा ओपन एआईले सार्वजनिक हितकारी संस्थाको रूपमा आफ्नो भूमिका त्यागेको र अब नाफा कमाउनलाई प्राथमिकता दिएको मस्कले आरोप लगाएका छन् । यद्यपि, ओपन एआईले मस्कलाई मुद्दा हालेर बदला लिएको छ । ओपन एआईले मस्कविरुद्ध उत्पीडनको आरोप लगाएको भने मस्कको यो नियमित व्यवहार भएको उल्लेख गरेको छ । अर्कोतर्फ, एप्पलले अहिलेसम्म यस विषयमा प्रतिक्रिया दिएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij