Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    १- नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो । यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई आजका लागि बोलाएको थियो । सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै शाक्यले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । जेनजी आन्दोलनपछि कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि उनको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो । सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

    AGNI GROUP

    २- नेकपाका महासचिव नेत्र विक्रम चन्द, एकीकृत समाजवादीका महाचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चावन्दी एकताबद्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा भएको छलफलपछि तीन नेताले विज्ञाप्ति जारी गर्दै सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्ने बताएका हुन् । उनीहरुले पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट रहेको उल्लेख गर्दै आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु ज्वलन्त कार्यभार बनेको बताएका छन् । तीन नेताको विज्ञप्ति: मुलुकको असाधारण राजनीतिक अन्योलका बारेमा हामी सबै जानकार नै छौं । सत्तासिन नेताहरु गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरुले खेल्नु पर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरु जनताबाट टाढिदै गएका थिए । दलहरुमा सुधारका प्रयासहरु असफल हुँदै गएका थिए । जसले गर्दा ती दलहरुले गत भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गते भएको विध्वंशलाई थेग्न सकेनन् । त्यसपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएका छन् ।

    ३- नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक केहि दिन अझै चल्ने भएको छ । शुक्रबार सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' र  प्रवक्ता डा. प्रकाशशरण महतलगायत २० जनाले आफ्नो धारणा राखेका छन् । धारणा राख्ने केन्द्रीय सदस्यहरु महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । आजको बैठकमा उपाध्याय र महत्तसहित गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाई, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशिला मिश्र भट्ट, नानु बास्तोला, गंगालक्ष्मी अवाल, गणेश लामा, डा. जीवन राना र सीता थपलिया (उर्मिला) ले आ–आफ्नो धारणा व्यक्त गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ गतेदेखि जारी रहेको छ । अब अर्कोबैठक आइतबार बिहान साढे ११ बजे बस्ने मुख्य सचिव पौडेलले बताए ।

    ४- रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले आउँदो चुनावमा नागरिकको मताधिकार सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्रकोआधारमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । फ्रन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्त्तिक ३० गतेसम्म नयाँ दर्ता गर्न सकिने भएकाले दुर्गम जिल्लाहरुमा सबैले आफ्नो नाम दर्ता गर्न सम्भव नभएको भन्दै राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा निर्वाचन केन्द्रमै बायोमेट्रिक्स रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको हो । साथै फ्रन्टले राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने भएकाले जनमुखी र समाधानमुखी काम गर्न अपील गरेको छ ।

    ५- गाजाको रफाह सीमा नजिकैको सुरुङमा लगभग २०० हमास लडाकुहरू फसेको रिपोर्ट बाहिर आएको छ । इजरायली मिडियाहरुले यी लडाकुहरू मार्च २०२५ देखि त्यहाँ फसेको उल्लेख गरेका छन् । इजरायली सेनाले उनीहरूको निकास रोकेको छ । इजरायली अधिकारीहरूका अनुसार, यी लडाकुहरू इजरायली नियन्त्रणमा रहेको गाजाको भागमा अवस्थित छन् । तिनीहरू सुरुङ भित्र लुकेका छन्, तर यदि तिनीहरूले पछि हट्ने प्रयास गरे भने, तिनीहरू इजरायली सेनाद्वारा कब्जा हुने जोखिममा छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले स्पष्ट रूपमा उनीहरूलाई सुरक्षित रूपमा बाहिर निस्कन नदिइने बताएका छन् । त्यस्तै इजरायली सेना प्रमुख इयाल जामिरले पनि लडाकुहरूलाई बाहिर निकाल्न हमाससँग कुनै सम्झौता नगर्ने बताएका छन् । रफाहको सीमा नजिक रहेको सुरुङमा रहेका हमास लडाकुहरू, जो विगत ७-८ महिनादेखि सम्पर्कविहीन छन्, उनीहरूलाई युद्धविराम लागू भएको थाहा पनि नहुन सक्ने समेत बताइएको छ । यसैबीच, इजिप्टले नोभेम्बर ६ मा इजरायल र हमासबीच सम्झौताको प्रस्ताव राख्दै हमास लडाकुहरूलाई सुरक्षित मार्ग दिइनुपर्ने उल्लेख गरेको छ । उनीहरूलाई मार्ने सट्टा, इजरायलले उनीहरूलाई तेस्रो देश वा गाजाको अर्को भागमा भाग्ने अवसर प्रदान गर्नुपर्ने प्रस्ताव रहेको छ । 

    ६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गरेका छन् । बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रास्वपाका हालसम्म २ लाख ४१ हजार ७९९ सदस्य रहेका छन् । जसमा प्रमाणित सदस्यको संख्या एक लाख ७३ हजार ५९ रहेका छन् । जसमा १४ प्रतिशत महिला रहेका छन् । त्यस्तै रास्वपाका ७४ जिल्ला समिति रहेका छन् । रास्वपाले अहिलेसम्म डोल्पा, मनाङ र मुस्ताङमा जिल्ला समिति बनाएको छैन । त्यस्तै प्रतिवेदनमा रास्वपाले ७५३ पालिका मध्ये २८९ पालिका र ४ हजार ४८७ वडामा संघठन निर्माण गर्न नसकेको उल्लेख गरिएको छ ।

    ७- नेकपा माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्न निर्वाचन आयोगमा निवेदन परेको छ । शुक्रबार माओवादी संघर्षका शहीद सन्तति फाउन्डेसनका तर्फबाट सन्दीप पुनले निर्वाचन आयोगमा सो निवेदन दिएका हुन् । निर्वाचन आयोगमा दर्ता गराइएको पत्रमा ‘पार्टीको नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिन्ह यथावत्’ राख्न माग गरेका छन् । माओवादी केन्द्रसहित १० वाम घटक मिलेर  'नेपाली कम्युनिष्ट पार्टी' बनाइएको छ र निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको समयमा माओवादी केन्द्रलाई कायम राख्न निवेदन परेको हो ।

    ८- नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् । शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका हुन् । विप्लव नेतृत्वको दलले कार्तिक १२ गते आयोग पुगेर पहिलो पटक दल दर्ताको लागि निवेदन दिएको थियो ।  उनीहरुले आफ्नो पार्टीको नाम 'कम्युनिष्ट पार्टी नेपाल' नाम प्रस्ताव गरेका छन् ।

    ९-सर्वोच्च अदालत आगामी मङ्सिर १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले सेवा अवरुद्ध भएका सुरू मुद्दा, पुनरावेदन पत्र, दोहोर्‍याइ पाउँ भन्ने निवेदन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।  सर्वोच्चले भनेको छ: मिति २०८२ । ०५ । २४ गते भएको आगजनी, ढुङ्गामुडा, तोडफोड र लुटपाटसमेतका कारणबाट यस अदालतको अधिकांश भौतिक संरचना, इजलासहरू, चालु मुद्दा तथा सूचना प्रणालीसमेतमा क्षति पुगेको कारण यस अदालतको पूर्व सूचनाअनुसार सबै प्रकारका रिट निवेदनहरू, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ का निवेदनहरू मात्र दर्ता एवम् सुनुवाइ हुँदै आएकोमा आज मिति २०८२।०७।२० मा बसेको पूर्ण बैठकको निर्णयानुसार मिति २०८२।०८।०१ गतेदेखि सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोऱ्याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू नियमित रूपमा दर्ता एवम् सुनुवाइ हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

    १०- काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा मुख्य १० बुँदा यस्ता छन् । १- उपस्थितिको औचित्य पुष्टी-  लोकप्रियताका लागि होइन, राजनीतिको दिशा र दशा बदल्न हामीले जुन–जुन एजेण्डा÷मुद्दाको पैरवी गरेका थियौं, आज तिनै राष्ट्रिय राजनीतिका मुख्य एजेण्डा बनेका छन्। स्थिर शासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी, सुधारिएको निर्वाचन प्रणाली, प्रदेश तहको पुनर्संरचना, भ्रष्टाचारविरुद्ध निर्मम कारबाही, आज सबैको साझा एजेण्डा बनेका छन्। यसले हाम्रो स्थापना, उपस्थिति र हस्तक्षेपलाई पुष्टि गरेको छ । वैचारिक, सांगठनिक र संसदीय उपस्थिति मात्र होइन जनस्तरको सद्भाव, आकर्षण र सहभागिता बढ्दै गए पनि केही राजनीतिक दललाई हाम्रो उपस्थिति स्वीकार्न कठिन भएको यथार्थ तिनका राजनीतिक प्रतिवेदन हेर्दा थाहा हुन्छ। देशको चौथो राजनीतिक दलको अस्तित्व स्वीकार गर्न नसक्ने प्रवृत्ति राजनीतिक चरित्र होइन। त्यो हामीप्रतिको इष्र्या र त्रासको परिणाम हो । २- सचेतनाको वेवास्ता- जेन–जी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् र आधार चाहिँ तिनैमार्फत सिर्जित दलीय सिण्डिकेट, राज्य दोहन र भ्रष्टाचार÷कुशासन नै हो। हामीले पनि निरन्तर सचेत गराउँदै आएका थियौं–संसदीय अंकगणितको बलमा शासकीय अहंकार, दम्भ र अर्कमण्यता बढ्दै गयो भने नागरिकमा चुँलिदै गएको आक्रोश विस्फोट हुनेछ। सभापति रवि लामिछानेज्यूले कांग्रेस–एमालेको सहकार्यमा सरकार बने लगत्तै त्यसलाई ‘अन्तिम भोज’को संज्ञा दिँदै यस्तो समीकरण पनि असफल हुँदाको नतिजा कल्पना गर्नुभएको छ? भनेर प्रश्न गर्नुभएको थियो । ३- दोषीलाई कारबाही-  सरकारको चरम दमन र विद्यालय पोशाकमा आएका विद्यार्थीलगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको हो । 

    ११- कालमेगी आँधीले फिलिपिन्स र भियतनाममा अहिलेसम्म १९३ जनाको ज्यान लिएको छ । बीबीसीका अनुसार आँधीले फिलिपिन्समा मात्र कम्तिमा १८८ जना र भियतनाममा पाँच जनाको ज्यान लिएको छ । बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको हावामा मध्य भियतनाम पार गरेपछि, आँधी अब पश्चिमतर्फ कम्बोडिया र लाओसतिर सरिरहेको छ । रातभर आँधीले प्रभावित भएपछि मध्य भियतनामको तटमा रहेका शहरहरू आज बिहान भग्नावशेषले भरिएका थिए । तेज हावाले रूखहरू उखेलिएका छन् भने घरका छाना उडाएको र ठूला झ्यालहरू फुटाएको देखिएको छ । क्षतिको सामना गर्न सेना तैनाथ गरिएको हुनाले हजारौं मानिसहरूले विद्यालय र अन्य सार्वजनिक भवनहरूमा आश्रय लिएका छन् । त्यसैगरी भियतनामको सेनाले राहत कार्यका लागि २ लाख ६० हजारभन्दा बढी सैनिक र कर्मचारीहरू, ६७ सयभन्दा बढी सवारी साधन र छ वटा विमानहरू सहित खटाएको जनाएको छ ।

    १२- काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले व्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिरको शिलालेख अनावरण गर्दै समुद्घाटन गरेका हुन् ।  मन्दिर समुद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले, प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृतिक, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनस्थापित गर्न लागिरहेको बताएकी थिइन् । यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो । संगत भन्छन्- 'अध्ययनबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएर पुननिर्माण गरिएको हो ।’

    १३- बलिउडको सबैभन्दा लोकप्रिय जोडी मध्ये एक, क्याट्रिना कैफ र विक्की कौशल आमाबाबु बनेका छन् । क्याट्रिनाले आफ्नो पहिलो सन्तान, छोरालाई जन्म दिएकी छिन् । यो जोडीले आफ्ना फ्यानहरूसँग छोराको जन्म भएको जानकारी दिएका हुन् । विक्की कौशल र क्याट्रिना कैफले आफ्नो आ-आफ्नो इन्स्टाग्राममा पोस्ट साझा गर्दै यो जानकारी दिएका छन । पोस्टमा बच्चाको चित्र र ठूलो 'बेबी ब्वाय' लेखिएको ग्रीटिंग कार्ड छ । यसमा लेखिएको छ- 'हाम्रो झोला खुशीले भरिएको छ । हामी हाम्रो बच्चालाई धेरै माया र स्नेहका साथ स्वागत गर्छौं ।' क्याट्रिना कैफले सेप्टेम्बर २३, २०२५ मा आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् । लामो समयसम्म डेट गरेपछि, विक्की र क्याट्रिनाले २०२१ मा विवाह बन्धनमा बाँधिएक थिए । विक्की कौशल र क्याट्रिना कैफले डिसेम्बर ९, २०२१ मा एक निजी समारोहमा विवाह गरेका थिए । विवाह समारोह राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवडामा आयोजना गरिएको थियो ।

    १४-भारतको दिल्ली विमानस्थलमा प्राविधिक समास्या आएको छ । भारतको विमानस्थल प्राधिकरणले अटोमेटिक म्यासेज स्विचिंग सिस्टममा समस्या आएको कारणले उडान हुन नसकेको जानकारी दिएको छ । यो सिस्टमलेएयर ट्राफिक कन्ट्रोलको डाटा प्रणालीलाई सहयोग गर्ने गर्दछ । प्राधिकरणले भनेको छ- 'एयर ट्राफिक कन्ट्रोल डेटालाई समर्थन गर्ने स्वचालित सन्देश स्विचिङ प्रणालीमा प्राविधिक समस्याका कारण दिल्ली विमानस्थलमा उडान सञ्चालनमा ढिलाइ भइरहेको छ । नियन्त्रकहरूले उडान योजनाहरू म्यानुअल रूपमा उडान गराइरहेका छन्, जसले गर्दा केही ढिलाइ भइरहेको छ । प्राविधिक टोलीहरूले प्रणालीलाई सकेसम्म चाँडो पुनर्स्थापित गर्न काम गरिरहेका छन् ।' प्राविधिक समस्या पछि दिल्लीबाट उडान गर्ने १०० भन्दा बढी उडानहरु ढिला भएका छन् । भारतको राष्ट्रिय राजधानी क्षेत्रको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल देशको सबैभन्दा व्यस्त विमानस्थल हो, जसले दैनिक १५ सयभन्दा बढी उडानहरू ह्यान्डल गर्छ । यो प्राविधिक समस्याका कारण बिहीबार साँझदेखि हवाई ट्राफिक नियन्त्रकले म्यानुअल रूपमा उडानहरू गराइरहेको बताइएको छ ।

    १५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ३०२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३०१० मा कारोबार भएको थियो ।

    १६- अमेरिकी कम्पनि टेस्ला इंकका शेयरधारकहरूले प्रमुख कार्यकारी अधिकृत एलन मस्कको लागि १ ट्रिलियन डलरको पारिश्रमिक प्याकेजलाई अनुमोदन गरेका छन् । यो कर्पोरेट सीईओको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो तलब प्याकेज हो । कम्पनीले आफ्नो वार्षिक बैठकमा ७५ प्रतिशत शेयरधारकहरूले प्रस्तावित एक ट्रीलियन डलरको तलब प्याकेजको पक्षमा मतदान गरेको जानकारी दिइएको छ । विगत केही दिनदेखि, बोर्ड, मस्क र खुद्रा लगानीकर्ताहरूद्वारा विद्युतीय सवारी निर्माता टेस्ला इंकको लागि सीईओको तलब प्याकेजलाई १ ट्रिलियन डलर पुर्‍याउन अभियान चलाइएको थियो । यद्यपि, पूर्ण तलब प्राप्त गर्न, मस्कले टेस्लाको बजार मूल्य बढाउनु पर्नेछ र सुस्त कार व्यवसायलाई बढावा दिनु पर्नेछ, साथै रोबोट्याक्सी र अप्टिमस रोबोटिक्सको लक्ष्यहरू प्राप्त गर्नुपर्नेछ ।

    १७- नेतृ रामकुमारी झाँक्रीले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाललाई सम्बोधन गर्दै आफुलाई गरेको कारवाही प्रति कटाक्ष गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले पार्टी एकीकरणको अन्तिम समयमा गरेको अर्थहीन कारवाहीप्रति कटाक्ष गरेकी हुन् । उनले यस्तो कारवाही गर्दा लोकले के भन्ला भन्ने पनि लागेन भन्दै यस्तो कारवाहीको केहि अर्थ नभएको बताएकी छन् । उनले नेपाललाई बाँकी जीवनका लागि शुभकामना दिदै आफुले सधै अभिभावकको रुपमा सम्झिने उल्लेख गरेकी छन् । उनले भनेकी छन्: प्रिय कमरेड माधव नेपाल अभिवादन ! आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए । जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि । बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो । मैले यसरी सधै सम्झने छु ।

    १८- 'हङकङ क्रिकेट सिक्सेस' अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो । यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् । रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए । यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए ।  अब नेपालले अर्को खेल भोली बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ ।

    १९- स्थानीयले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण पुर्ण रुपमा बन्द गरेपछि काठमाडौँ उपत्यकाको खानेपानी वितरण प्रभावित भएको छ । हेलम्बुका स्थानीयले पटक पटकको आन्दोलनमा भएको सहमति कार्यान्वयन नभएको भन्दै माग पूरा नभएसम्म पानी पथान्तरण विहिबारदेखि बन्द गरेका हुन् । पानी पथान्तरण बन्द भएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (कयूकेएल) ले यसअघि हुदै आएको खानेपानीको वितरण अवरोध भएको जानकारी गराएको छ । केयुकेएलले वितरण भईरहेको मेलम्चीको पानी बिशेष कारणवश मेलम्ची मुहानमा पानी अवरोध भएको हुँदा अर्को सुचना प्रकाशित नहुंदासम्म पानी वितरण अवरुद्ध हुने जानकारी गराएको हो । 

    २०-बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ । पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij