Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलसमेत रहेको संयुक्त इजलासमा उक्त रिटबारे विचार हुने जनाइएको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
प्रहरीले मङ्सिर १ गते प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्दै आएको छ । आन्दोलन घोषणा गर्दै उत्तेजनापूर्ण अभिव्यक्ति दिएको र उनका गतिविधिले हिंसा भड्किन सक्ने सम्भावनाको विश्लेषणपछि पक्राउ गरिएको प्रहरीको दाबी छ ।
प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गर्दै यातायातसहित सबै क्षेत्र ठप्प पार्ने चेतावनी दिएका थिए । साथै देशको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको एनपीएल (नेपाली प्रिमियर लिग) रोक्न क्यानका अधिकारीलाई समेत दबाबयुक्त चेतावनी दिएको भिडियो सार्वजनिक भएपछि यसले थप विवाद सिर्जना गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij