Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदका नाममा नक्कली बिल बनाई रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सह–लेखापाल बिर्षसिहं सुनार र नेपालगञ्जस्थित आर्यन फार्माका सञ्चालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाका लागि औषधि तथा उपकरण खरिद गर्दा मिलेमतोमा खरिद नै नगरिएका सामग्रीको समेत विल बनाएको र वास्तविक बिलको अंक सच्याएर लाखौं रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा १२ सय रुपैयाँको बिललाई सच्याएर ९२ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ । बागेश्वरी सर्जिकलबाट १ हजार २ सय रुपैयाँको सामान खरिद गरिएकोमा त्यसलाई सच्याएर ९२ हजार रुपैयाँ बनाइएको थियो ।
यस्तै, एलाइड प्याथोक्याम एण्ड सर्जिकलको १ हजार ३ सय ५० रुपैयाँको बिलमा अंक थपेर १ लाख १ हजार ३ सय ५० रुपैयाँ भुक्तानी लिएको भेटिएको छ ।
यसबाहेक नक्कली ढुवानी बिल बनाएको र एउटा औषधिको सट्टा अर्कै सामग्री बिक्री गरेको देखाई झुटो बिल पेश गरेको पनि पुष्टि भएको छ । अख्तियारले उनीहरूले कुल १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ ।
आयोगले चारै जना प्रतिवादीसँग जनही १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij