Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको सभ्यतालाई जोगाउन आफूहरू लागिपर्ने बताएका छन् । आज सुर्खेतमा आयोजित रास्वपाको आमसभामा बोल्दै उनले कर्णालीको सपना अब उप्रान्त आफूहरूको सपना भएको उद्घोष गरे ।
आफ्नै शैलीमा संक्षिप्त सम्बोधन गरेका बालेनले कर्णालीको प्रकृति र सौन्दर्यको प्रशंसा गरे । त्यस क्रममा उनले राजा महेन्द्रको पनि नाम लिए ।
उनले भने, ‘यो देशको सबैभन्दा ठूलो रारा ताल, राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा धेरै खुशी लागेको छ । देशको सबैभन्दा लामो नदी, सबैभन्दा ठूलो जिल्ला, सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ हो यो । यहाँ देशकै सबैभन्दा गहिरो ताल पनि छ, जुन तालको गहिराईलाई यो देशको सरकारले र पार्टीले बुझ्न सकेनन् । त्यो गहिराई बुझ्ने पार्टी हो रास्वपा ।’
कर्णालीको उत्पादनलाई देशभरि पुर्याउनुपर्नेमा उनले जोड दिए ।
बालेनले थपे, ‘आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभरि पुग्न सक्छ, कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन । यहाँको उत्पादनलाई देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ रास्वपा । सिन्जा उपत्यका सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा । कर्णालीको गरिबी, दु:ख, पीडा बेच्ने धेरै आए, तर बुझ्ने नेता आएका छैनन् । त्यो बुझ्ने पार्टी बन्न चाहन्छ रास्वपा ।
कर्णालीबासीको सपना बोकेर जाने आकांक्षा बालेनले प्रस्तुत गरे ।
उनले भने, ‘तपाईँहरूको सपना बोकेर जान पाउँ । त्यो बोक्ने सुरूवात वाचापत्रबाट गरेका छौं । कर्णालीबाट वाचापत्र घोषणा गरेका छौँ । आज उप्रान्त तपाईँहरूको सबै सपना हाम्रो सपना हुनेछन् ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij