Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा नवीन रिजाललाई पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट कार्यसमितिमा उनको प्यानलै आएको छ । अध्यक्षका प्रतिष्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गरेका हुन् ।
राउतले १४२ मत प्राप्त प्राप्त गर्दा रिजाल ५८ मतमा सीमित भए । तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । राउतले वस्तुगततर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाए ।
त्यसैगरी जिल्ला–नगर संघबाट राउतले २४ मत पाउँदा रिजाललाई १३ मत मात्रै आयो। एसोसिएट्सतर्फ राउतले १०७ मत ल्याउँदा रिजाल ३९ मतमा सीमित भए ।
महासंघ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षका लागि मात्रै निर्वाचन भएको हो ।
जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध भएका छन् । निर्विरोध भएका सबै पदाधिकारी राउत समूहका हुन्
एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । जिल्ला-नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन् ।
महासंघ कोशीमा जिल्ला-नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगतबाट १९ र एसोसिएट्सबाट १४८ जना मतदाता थिए । महासंघको नेतृत्व चयनका लागि २०५ जनाले मतदान गरेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij