Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाममा उल्लेख गरेपछि रास्वपाका सांसद दीपक बोहोराले सर्वोच्चमा रिट हालेका छन् । आज सभापति रवि लामिछानेसँगै दिल्ली जानुअघि उनले रिट दर्ता गराएका हुन् ।
आयोगको प्रतिवेदनमा भदौ २३/२४ गतेको घटनामा विभिन्न ढंगले भिडलाई उक्साउने क्रियाकलाप गरेको भन्दै रास्वपाका दर्जनौँ सांसदहरूलाई आरोपित गरेको छ । उनीहरूमाथि छानबिन गरेर दोषी देखिएमा कारबाही गर्न भनिएको छ । त्यसभित्र बोहोरा पनि परेका छन् ।
बोहरा जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी भएका थिएनन् । त्यसबेला उनी दोस्रो सन्तान जन्मिने क्रममा श्रीमतीसँग अस्पतालमा थिए । प्रतिवेदन पूर्वाग्रही र भ्रमपूर्ण रहेको भन्दै बोहराले खारेजीको माग रिटमा गरेका छन् । उनको रिटमा भोलि पेशी तोकिएको छ ।
उनी भन्छन्, ‘मैले कुनै पनि समयमा हिंसा, आगजनी, तोडफोड वा गैरकानुनी गतिविधिको आह्वान गरेको छैन। प्रतिवेदनमा ‘उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टीकाटिप्पणी भएको’ जस्तो अस्पष्ट र अनुमानमा आधारित भाषा प्रयोग गरिएको छ। ‘टीकाटिप्पणी भएको’ भन्ने आधारमा कसैको संलग्नता शंका गर्नु कानुनी राज्यको सिद्धान्तसँग मेल खाँदैन। मानवअधिकार आयोगजस्तो संवेदनशील संस्थाले अनुसन्धानको नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नै शंकाको घेरामा पार्ने गरी भाषा प्रयोग गर्नु दुर्भाग्यपूर्ण छ।’
मानवअधिकारको रक्षा गर्नुपर्ने जिम्मेवारी बोकेको संस्थाले अनुमानलाई प्रमाण बनाउँदा भविष्यमा कुनै पनि नागरिकलाई सार्वजनिक विषयमा बोल्न डराउने अवस्था सिर्जना गर्न सक्ने बोहराको भनाइ छ ।
‘लोकतन्त्रमा विचार राख्नु र हिंसात्मक कार्यमा संलग्न हुनु दुई बिल्कुल फरक कुरा हुन्, र यी दुईलाई मिसाएर हेर्नु उचित हुँदैन,’ उनले भनेका छन् ।
प्रतिवेदनमा नाम भएका अन्य रास्वपा सांसदहरूले पनि रिट लैजाने तयारी गरिरहेका छन् । सबैजनाको सामूहिक रिट दर्ता गर्ने गरी गृहकार्य भइरहेको रास्वपाका सांसद तथा कानून व्यवसायी मधु चौंलागाईंले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij