Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर समायोजनको विषय चर्चामा छ ।
नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएपछि यात्रुवाहक सार्वजनिक सवारीको भाडादर घट्ने निश्चितजस्तै भएको छ।
यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ दररेट निर्धारणका लागि आवश्यक प्राविधिक गृहकार्य सुरु गरिसकेको छ।
विगतमा इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडा प्रणालीअनुसार १३ प्रतिशत भाडा बढाउनुपर्ने सिफारिस भए पनि आम नागरिकलाई राहत दिन भन्दै सरकारले ५ प्रतिशत मात्रै वृद्धि गरेको थियो ।
त्यसबेला व्यवसायीहरूले लागत नउठेको भन्दै असन्तुष्टि जनाएका थिए । तर, अहिले इन्धनको मूल्यमा भएको ठूलो गिरावटले सञ्चालन खर्च उल्लेख्य रूपमा घट्ने भएपछि यातायात व्यवसायीहरू स्वयं नै भाडा समायोजनका लागि तयार देखिएका छन् ।
विभागले इन्धन, लुब्रिकेन्ट्स र मर्मत सम्भारलगायतका सूचकहरूलाई आधार मानेर नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
यात्रुवाहक सवारीको भने भाडा घट्ने भएको छ । कति भाडा घटाउने भनेर विभागमा अहिले छलफल भइरहेको छ ।
ढुवानी सेवा (मालवाहक सवारी) को भाडादरमा भने तत्काल त्यति धेरै नघट्ने भएको छ । विभाग एक कर्मचारीले भने, ‘सार्वजनिक सवारीमा बसहरूको भाडा केही प्रतिशत घट्ला तर, ढुवानीको भने खासै घट्दै होला ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij