Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि अनुभवी पर्यटन व्यवसायी जिस्वान तुलाधरले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
पर्यटन क्षेत्रमा २५ वर्षको लामो अनुभव र नाट्टामा १५ वर्षको संस्थागत योगदान पुर्याएकी उनले ‘अनुभव, समावेशिता र परिणाममुखी नेतृत्व’ को नारासहित उम्मेदवारी घोषणा गरेकी हुन् ।
नाट्टामा निरन्तर सक्रिय रहँदै पाँच कार्यकाल विभिन्न जिम्मेवारी सम्हालेकी तुलाधरले आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई संस्थाको सुदृढीकरण र सदस्यहरूको हितका लागि भएको स्पष्ट पारेकी छन् । आफूलाई महिला कोटाको आधारमा नभई क्षमता, अनुभव र प्रतिबद्धताको आधारमा नेतृत्वका लागि अघि सारेको उनको भनाइ छ ।
व्यवसायका अलावा तुलाधरको परिचय साहसिक पर्यटन र अन्तर्राष्ट्रिय खेलकुदसँग पनि जोडिएको छ । सन् २०१६ मा एक्लै अन्नपूर्ण आधार शिविर (एबीसी) को पदयात्रा गरेर चर्चामा आएकी उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला चालक पिन हुन् । उनले थाइल्याण्ड, इन्डोनेसिया र फ्रान्समा आयोजित अन्तर्राष्ट्रिय मोटर ड्राइभिङ प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।
‘नेतृत्व भनेको चुनौतीसँग डराउने होइन, चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने क्षमता हो,’ उनले भनेकी छन् । उनी निर्वाचित भएमा दशकौँपछि नाट्टाले दोस्रो महिला अध्यक्ष पाउनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij