Jul 28 2026 | २०८३, साउन १२ गते
ललितपुर । सार्वजनिक स्थलमा महिलाप्रति अश्लील हर्कत गरेका रक्षा मन्त्रालयका अधिकृत सुरेन्द्र भट्टले आफूबाट जानाजान त्यस्तो हर्कत नभएको प्रहरीलाई बताएका छन् । भट्टले केही दिनअघि इमाडोलमा एक युवती सामु आफ्नो शरीरको गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय भट्टलाई सिंहदरबारस्थित रक्षा मन्त्रालय हाताभित्रै नियन्त्रणमा लिएको हो । उनी त्यहाँ शिक्षा अधिकृतका रूपमा कार्यरत छन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएको छ । तर, औपचारिक रूपमा बयान लिन सुरु गरिएको छैन । उनी प्रहरी वृत्त सातदोबाटोको हिरासतमा छन् । सातदोबाटो प्रहरी स्रोतका अनुसार उनले पीडित भनिएकी महिलालाई लक्षित गर्दै जानाजान त्यस्तो क्रियाकलाप नगरेको भनेका छन् ।
‘खै, त्यसबेला के भो-के भो, तर मैले जानाजान गरेको होइन,’ उनले प्रहरीलाई अनौपचारिक कुराकानीमा भनेका छन् । आफूले पीडित भनिएकी महिलालाई नचिनेको र उनी वा अरु कोही महिलाप्रति आफ्नो कुनै पनि खराब दृष्टि नभएको उनले भनेका छन् । आफ्नो शारीरिक अङ्ग अरूलाई देखाउनुपर्ने र त्यसबाट सन्तुष्टि लिनुपर्ने स्थितिमा आफू नभएको उनले बताएका छन् । यद्यपि बयानका रूपमा उनका भनाइ अभिलेखित भएका छैनन् ।
ललितपुरका प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले उक्त घटना अनुसन्धानकै क्रममा रहेको बताएका छन् । ‘अहिले उहाँ मुद्दाको प्रतिवादी हो, हामी कानुनसम्मत रूपमा अनुसन्धान गरेर सम्बन्धित निकायमा मिसिल बुझाउँछौँ’, उनले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij