Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । पूर्वअर्थमन्त्री तथा अर्थविद् महेश आचार्यले सेयर बजारमा लागु रहेको १० कित्ते नीतिको पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
मुलुकमा दुई तिहाइको स्थायी सरकार हुँदासमेत पुँजी बजार अत्यन्तै निराशाजनक अवस्थामा पुगेको उल्लेख गर्दै उनले पुराना गलत अभ्यास र परम्परालाई त्यागेर नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए।
धितोपत्र बोर्डले बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सुधारमुखी तथा क्रान्तिकारी नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो।
आचार्यले धेरै कम्पनीहरू प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा रहे पनि बजारमा चलखेल र जोखिम कायमै रहेको बताए।
नियमन र सुपरिवेक्षण अझै कमजोर रहेको तथा स्वार्थ समूहको प्रभाव देखिएको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रका साना लगानीकर्तालाई लक्षित गरी वित्तीय साक्षरता र जनचेतनामूलक कार्यक्रम तल्लो तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, नरेन्द्रकुमार केरुङले सेयर बजारमा आएको लामो गिरावटका कारण धेरै लगानीकर्ता र बौद्धिक वर्ग मानसिक तनाव तथा निराशामा पुगेको बताए।
बजारको मनोवैज्ञानिक अवस्था, सार्वजनिक अभिव्यक्ति र वास्तविक परिस्थितिबीच ठूलो अन्तर देखिएको भन्दै सम्बन्धित निकायका पदाधिकारीहरूले त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ थियो।
केरुङले स्थिर सरकार बने पनि निजी क्षेत्र सरकारप्रति विश्वस्त हुन नसक्नु चिन्ताको विषय भएको बताए।
बजारमा आएको ठूलो गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको उल्लेख गर्दै उनले अर्थमन्त्री र सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक लिएर निजी क्षेत्रको आत्मविश्वास बढाउने तथा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने ठोस र प्रभावकारी उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij