Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशीधर शर्मालाई पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो।
प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो।
उक्त कर्जाका लागि बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने भन्ने कबुलियतनामा तयार गरी कर्जा लिइएको र त्यसपछि उक्त रकम तोकिएको प्रयोजनमा प्रयोग नगरी कम्पनीका अध्यक्षको पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरिएको आरोप छ।
नेपाल राष्ट्र बैंकले यसलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिम कर्जा दुरुपयोगसम्बन्धी कसूर भएको ठहर गर्दै अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गरेको थियो।
सोही आधारमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर सीआईबीले असार ३० गते काठमाडौं महानगरपालिका–९, पिंगलास्थानबाट ५८ वर्षीय शशिधर शर्मालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका शर्मा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी हुन्। उनी एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्षसमेत हुन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij