Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामाथि रु दुई करोडभन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युशमान सिंह, बाराका गौतमकुमार गुप्ता, पाँचथरका सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी छन् ।
प्रहरीका अनुसार काठमाडौँका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी गराएको र श्रव्यदृश्य सामग्री बनाएर सामाजिक सञ्जालमा राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले माइतीघर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूका साथबाट चार थान मोबाइल फोन र चार थान सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले मोबाइल बैङ्किङ र बेटिङ प्लेटफर्ममार्फत रु दुई करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध सट्टेबाजी गर्न वा गराउन नहुने कसुरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अघि बढाएको प्रवक्ता भट्टराईले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij