Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । धान रोपाइँ हुने मुख्य महिना असार सकिन लाग्दा कोशी प्रदेशमा धान रोपाइँ करिब ५५ प्रतिशत मात्रै सम्पन्न भएको छ।
कोशी प्रदेशभर धान खेती हुने कुल २ लाख ७६ हजार ३ सय ८६ दशमलव ७२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये एक लाख ५१ हजार ६ सय १९ दशमलव ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
कुल धान खेती योग्य क्षेत्रफलको ५४ दशमलव ८६ प्रतिशत रोपाइँ भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । कोशी प्रदेशको सबैभन्दा बढी भोजपुर जिल्लामा ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम धनकुटा जिल्लामा २८ प्रतिशत मात्रै रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देवाले जानकारी दिए ।
बर्देवाका अनुसार खोटाङमा ७१ दशमलव ३६ प्रतिशत, पाँचथरमा ६७ प्रतिशत, इलाममा ६६ प्रतिशत, झापामा ६१ दशमलव ८० प्रतिशत, सोलुखुम्बुमा ५७ दशमलव ५६ प्रतिशत र उदयपुरमा ५५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै सुनसरीमा ५२ प्रतिशत, तेह्रथुममा ५१ दशमलव ५८ प्रतिशत, ताप्लेजुङमा ४९ प्रतिशत, ओखलढुंगामा ४७ दशमलव ४६ प्रतिशत, मोरङमा ४६ प्रतिशत र संखुवासभामा ३६ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij