Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

अविरल वर्षाले देशभरका दर्जनौँ सडक अवरुद्ध

अविरल वर्षाले देशभरका दर्जनौँ सडक अवरुद्ध

  • काठमाडौँ । अविरल वर्षासँगै पहिरो, लेदो र सम्भावित बाढीका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो तथा लेदो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गमा पनि पहिरो झरेपछि सवारी आवागमन ठप्प भएको छ ।

    AGNI GROUP

    रसुवाको उत्तरगया गाउँपालिकास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड, रोल्पाको माडी गाउँपालिकास्थित रुकुम–घोराही शहीद मार्ग, दार्चुलाको महाकाली राजमार्ग, बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी करिडोर तथा खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    यस्तै इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण बन्द भएको छ भने ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकास्थित मेची राजमार्गमा पनि पहिरो खसेपछि यातायात सेवा प्रभावित बनेको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिकास्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ ।

    यसैबीच सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ ।

    मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

    विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेशमा रातिको सवारी सञ्चालनमा विशेष प्रतिबन्ध लगाइएको छ। कोशी प्रदेशका इलाम, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटा, पाँचथर, खोटाङ र सोलुखुम्बुका विभिन्न सडकमा रातिको समयमा सवारी सञ्चालन रोकिएको छ।

    बागमती प्रदेशमा काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर र चितवनका प्रमुख सडक तथा राजमार्गमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। विशेषगरी नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा अर्को सूचना जारी नभएसम्म रातिको सवारी आवागमन बन्द रहने जनाइएको छ ।

    गण्डकी प्रदेशमा कास्की, गोरखा, स्याङ्जा, लमजुङ, बागलुङ र म्याग्दीबाट छुट्ने लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्चालनसमेत अस्थायी रूपमा रोकिएको छ ।

    सुरक्षा निकायले वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न, यात्रा गर्नुपरे सम्बन्धित जिल्लाको सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा प्रहरी र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij