Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूले मादकपदार्थ तथा लागुऔषध सेवन (मापसेरलापसे) गरेरनगरेको सम्बन्धी विशेष जाँच अभियान थालेको छ । डुंगा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।
पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालित अभियानका क्रममा ३२ डुंगा चालकको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका चालकमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले जानकारी दिए ।
पर्यटक तथा सर्वसाधारणको सुरक्षा प्रहरीको प्राथमिकतामा रहेको भन्दै उनले आउँदा दिनमा पनि यस्ता निगरानी र चेकजाँचलाई निरन्तरता दिइने बताए ।
“डुंगाबाट हुन सक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न तथा मापदण्डअनुसार व्यवसाय सञ्चालन भएरनभएको सुनिश्चित गर्न हामीले यो कदम चालेका हौँ,” उनले भने ।
फेवातालका विभिन्न आठ घाटमा फेवा डुंगा व्यवसायी समितिसँग आबद्ध ७०० भन्दा बढी डुंगा सञ्चालनमा छन् । बेलाबेलामा हुने मानवीय हेलचेक्र्याइँ र भवितव्यका कारण तालमा दुर्घटना हुने गरेकाले प्रहरीले सक्रियता बढाएको हो ।
फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले प्रहरीको यो अभियानलाई सकारात्मक भन्दै स्वागत गरे । लागुऔषध सेवन गरेर डुंगा चलाउनु सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण हुने र यसले पर्यटन क्षेत्रमा समेत नकारात्मक सन्देश जाने उनले बताए ।
प्रशासनले साँझ ६ बजेपछि डुंगा सञ्चालनमा रोक लगाउने निर्णय गरेकामा भने व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष गिरीले आफ्ना डुंगा सुरक्षित रहेको जिकिर गर्दै चालक र ‘लाइफ ज्याकेट’बिना कोही पनि पर्यटकलाई तालमा नपठाइने प्रतिबद्धता जनाए ।
उनले व्यवसायी र प्रशासनबीच समन्वय गरेर सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij