Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिनकी २ छोरीलाई प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीहरू क्याटरिना र मारियाले बाबुको सम्पत्ति लुकाएको भन्दै उनीहरूमाथि प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि झन्डै डेढ महिनाअघि देखि रूसविरूद्ध आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ । युक्रेनको राजधानी किएभनजिकैको बुचामा दर्जनौं युक्रेनीका शव भेटिएको घटनापछि अमेरिकाले रूसमाथि बुधबार थप प्रतिबन्ध घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएको छ ।
पुटिनकी छोरी क्याटरिना रूसी सरकार र उसको प्रतिरक्षा प्रणालीलाई सघाउने प्रविधि कम्पनीकी कार्यकारी प्रमुख हुन् भने मारियाले रूसी सरकारको अनुदानमा जेनेटिक अनुसन्धान कार्यक्रम चलाइरहेकी छन्।
पुटिनकी यी दुबै छोरीको विवाह भइसकेको छ। पुटिनले सन् १९८३ मा ल्युडमिला एलेक्सान्ड्रोभ्ना ओकेरेत्नायासँग विवाह गरेका थिए। उनीहरूबी सन् २०१४ मा पारपाचुके भएको थियो। पुटिनले कहिले पनि आफ्नी छोरीहरूका बारेमा सार्वजनिक जानकारी दिएका थिएनन्।
अमेरिकाले बुधबार घोषणा गरेको प्रतिबन्धमा रूसी विदेश मन्त्री सर्जेई लाभरोकी श्रीमती र छोरीलाई पनि समावेश गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij