Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको छ ।
दुई नगरपालिका र सात गाउँपालिका सहित नौ वटा स्थानीय तह रहेको डोटीमा नेकपा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआइसिंह तथा बोगटान फुड्सिल गाउँपालिका गरी पाँच स्थानीय तह लिएको छ भने एकीकृत समाजवादीले शिखर नगरपालिका, जोरायल, बडीकेदार, पूर्वी चौकी गाउँपालिका गरी चार स्थानीय तह लिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।
यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने निर्णय गरिएको भए पनि काँग्रेस कार्यकर्ताको विरोधपछि अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको माओवादी केन्द्रका डोटी जिल्ला अध्यक्ष शिवसिंह ओलीले बताए ।
उनले भने, “सत्तारुढ दलबीच गठबन्धनका लागि गएराति सहमति भएको थियो, कांग्रेसका जिल्ला तहका नेता कार्यकर्ताले नमान्दा कांग्रेससँग सहमति भएन हामी दुई समाजवादी र माओवादीले गठबन्धन गरेर जाने निर्णय गर्यौं ।”
डोटीमा नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच सहमति भएपछि आफूले पाएका स्थानीय तहमा आजै उम्मेदवारी दर्ता गर्ने तयारी भएको एकीकृत समाजवादीका डोटी उपाध्यक्ष शिवराज खड्काले जानकारी दिए ।
उता सत्तारुढ दल नेपाली काँग्रेस भने डोटीमा एक्लै चुनावमा जाने भएको छ । डोटीमा कांग्रेस एकल रुपमा निर्वाचन जाने र नौवटै स्थानीय तहका लागि आजै उम्मेदवारी दिइने कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए ।
उनले भने, “काँग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धनका लागि निकै प्रयास गरेका थियौँ, विविध कारणले सहमति हुन सकेन, हामी एक्लै निर्वाचनमा जान्छौँ ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij