
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । सरकारले आजै पूर्णता पाउने कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका उनले सत्ता साझेदार दलहरूसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन लागेका हुन् ।
उनले यही वैशाख १२ गते विनाविभागीय मन्त्रीका रुपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक रणसिंह परियारलाई नियुक्त गरेका थिए । आज नेकपा (एमाले)को भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए ।
माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ ।
नियुक्त हुने मन्त्रीहरूको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका नेता राजकुमार शर्माले जानकारी दिए । दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन ।
मन्त्रीहरू नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij