
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ ।
वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए । यस चरणमा १ ह जार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएका छन् । ३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ । आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ ।
दोस्रो चरणको कक्षा ज्येष्ठ ६ गते आइतबारबाट सुरु हुनेछ । यसमा १ हजार १३५ जनाको कोटा छ । यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गराइएको छ ।
तालिमामा सहभागी हुनेले ९० प्रतिशत हाजिर अनिवार्य छ । तालिम सुरु गरेर कसैले छोड्न नपाउने व्यवस्था छ । तालिम निःशुल्क हो तर कसैले बिचमै छोडेमा तालिम वापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।
निःशुल्क सिपमूलक तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन परेको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिनुभएको हो । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित आवेदन माग गरिएको थियो ।
वैशाख १९ गते अगाडि अनलाइनबाट आवेदन दिने ७ हजार ३८२ जनालाई पहिलो प्राथमिकतामा राखेको छौँ । उद्घाटनका दिन टुँडिखेलमै फाराम भर्ने ४ हजार १८२ जनालाई दोस्रो प्राथमिकतामा राखेका छौँ । यसपछि सिप मेलामा आएर आवेदन दिने १३ हजार ९९४ जनालाई तेस्रो प्राथमिकतामा राखेका छौँ । प्रशिक्षणमा बोलाउँदा यही मापदण्डका आधारमा बोलाएका हौँ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij