Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा बागमती करिडोरमा वर्षातको समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माणको जिम्मा लिएको बागमती करिडोरको सानेपाको कालोपुल र बल्खुको पुलमुनि हरेक वर्ष पानी जम्ने भएकाले यात्रु समस्यामा परेका छन्।
पुलमुनि वर्षातको समयमा पानी जम्ने भएकाले कालोपुलमा सूचना टाँसिएको छ। ‘कृपया यो पुलमुनि वर्षातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नु होला’, बागमती करिडोरस्थित सानेपाको कालो पुलमा उल्लेख गरिएको छ। आफूले हरेक वर्ष बागमती करिडोरस्थित कालोपुलमुनि पानी जमेकाले यात्रामा असहज महसुस गरेको मोटरसाइकल यात्री रमेश पन्तले जनाए। उनले भने‚ ‘बल्खु पुलमुनि पनि वर्षातको समयमा पानी जम्ने समस्या छ, सानेपाको कालोपुलमा हरेक वर्ष पानी जमेको छ, जिम्मेवार निकायले यस्तो कुरामा ध्यान नदिएकाले हामीले दुःख पाएका छौँ।’
त्यसैगरी अर्का मोटरसाइकल यात्री पवनकुमार थापाले पनि हरेक वर्ष पुलमुनि पानी जमेकाले ट्राफिक जाम भएर आफूले समस्या भोगेको दुखेसो पोखे। उनले भने, ‘पुलमुनि वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहोला भनेर सूचना टाँसेको छ तर वैकल्पिक यात्रा कहाँ गर्ने रु, बाटो साँगुरो भएर ट्राफिक जाम हुन्छ, जिम्मेवार निकायले यस्तो समस्याका समाधान चाँडै गर्नुपर्ने हो।’
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोरलाई बागमती सभ्यतासँग जोडेर निर्माण कार्य अघि बढाए पनि महानगरपालिका–४ को धोबिघाट पुलसम्म करिडोर निर्माण सकिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij