Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपालका केही सहकारी संस्थाहरु ठग्ने उद्देश्य नै राखेर खुलेको रहस्य सार्वजनिक भएको छ।
सहकारीको खातामा एउटै व्यक्तिले स्रोत नखुलाई ४० करोडसम्मको रकम जम्मा गरे पनि सम्बन्धित सहकारी सञ्चालकलाई समेत रकम जम्मा गर्ने व्यक्तिका विषयमा कुनै पनि जानकारी नभएको पाइएको सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समिति सदस्य ईश्वरी देवी न्यौपानेले जानकारी दिइन्।
अहिलेसम्म समितिले गरेको अध्ययनका क्रममा दर्जनभन्दा बढी सहकारीमा यस्तो समस्या देखिएको उनले बताइन्। सबैभन्दा बढी कृषि सहकारी नाममा दर्ता भएका र जिबि राईसँग नाम जोडिएका सहकारीमा यस्तो समस्या देखिएको छ।
जिबि राई र पूर्वगृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएकाले समितिले पत्र काटेर छलफलमा बोलाउने तयारी गरिरहेको छ। केही सहकारीका सञ्चालकहरुलाई भने पत्र नै काटिसकिएको समिति सदस्य न्यौपानेको भनाइ छ।
३ महिनाको समयसिमा पाएको समितिले १ महिनाभन्दा बढी समयसम्म छानबिन जारी राख्दा सम्बन्धित व्यक्ति, सरोकारवालासँग करिब बुझ्नेक्रम सकिएको जनाएको छ। समितिले अब फेरि एक पटक अर्थमन्त्रालय, केन्द्रीय अनुसन्धान ब्यूरोलगायतसँग संयुक्तरुपमा छलफल गर्ने तयारी गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij