Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विद्यार्थी संगठनको सचिव बताउने एकजना व्यक्तिले जनआस्था साप्ताहिकको कार्यालयमा बम हान्ने र सम्पादकलाई मार्ने धम्की दिएका छन् ।
जनआस्थाका प्रधानसम्पादक एवम् प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेकपाको विद्यार्थी संगठनका सचिव बताउने कपिल सी नामका व्यक्तिले फोन गरी उक्त धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
कपिल सीले श्रेष्ठलाई अश्लील गालीगलौजसहित भौतिक कारबाहीको धम्की दिएको घटनाको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले निन्दा गरेका हुन् ।
महासचिव पुरीका अनुसार साउन ८ गते मंगलबार विहान १० बजेदेखि मोबाइलबाट फोन गरी कपिल सीले स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै मार्ने धम्की दिएको बताए ।
कपिल सी भन्ने व्यक्तिले ‘प्रधानसम्पादक श्रेष्ठ र उनकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने बम हानेर घर उडाइदिने’ जस्ता धम्की दिएका महासंघले जनाएको छ ।
त्यही दिन दिउँसो सानेपाको धोवीघाटस्थित पत्रिकाको कार्यालयमा हतियारसहित एक व्यक्ति प्रवेश गरेर धम्कीपूर्ण भाषा प्रयोग गरेको महासंघले जनाएको छ ।
ती व्यक्तिले कार्यालयका कर्मचारीलाई धम्क्यार ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने’ भनेर धम्क्याउँदै पत्रिका प्रकाशनमासमेत अवरोध गरेको प्रधान सम्पादक श्रेष्ठले बताएका छन् ।
‘समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र सम्वादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी यस किसिमको अपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार हो’, महासंघका महासचिव पुरीले भनेका छन्, ‘पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने यो कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग महासंघ माग गर्छ ।’
महासंघले संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारको सम्मान गरी यस किसिमका गतिविधि नदोहोऱ्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij