Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा सचिव मोरङ बेलबारी नगरपालिका-५ घर भई काठमाडौंको भंगाल बस्ने ३२ वर्षीय गोबिन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका-८ घर भई कलंकी बस्ने महेश श्रेष्ठ र चाबहिल शाखाका व्यवस्थापन रामेछाप घर भई चाबहिल बस्ने ध्रुवराज कार्की छन्।
यो सहकारीको न्युरोड र चाबहिलमा शाखा कार्यालय छ। यसको प्रधान कार्यालय सामाखुसीमा छ।
यसरी शाखा कार्यालय समेत खडा गरी संचालकहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनेर रकम जम्मा गर्न लगाएका थिए। मासिकरत्रैमासिकर वार्षिक ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, व्याज फिर्ता पाउने भनेर विश्वासमा लिएर रकम बचत गर्न लगाएका थिए।
तर रकम फिर्ता लिन जाँदा र पटकपटक ताकेता गर्दा पनि फिर्ता नगरेपछि पीडितहरूले काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय सहकारी विभागमा उजुरी दिएका थिए। विभागले सिआइबीलाई पत्र लेखेपछि तीन जनालाई पक्राउ गरेको हो।
उनीहरूमाथि पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ। यस सहकारीबाट ठगिएका पीडितहरू प्रहरीको सम्पर्कमा आउन पनि सिआइबीले अनुरोध गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij