Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धी कानुनको सही कार्यान्वयनका लागि खबरदारी आवश्यक रहेको बताएका छन् ।
बुधबार (आज) प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले शान्ति प्रक्रियाको काम अगाडि बढ्नु सकारात्मक भएको बताए ।
‘संक्रमणकालीन न्याय निरुपणका गाँठा फुकाउने गरी कानुन त बन्ने भयो । तर, कानुन आफैँले न्याय दिने चाहिँ होइन । संरचना त्यसका लागि चाहिन्छ । संरचनामा रहने व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ’, सभापति लामिछानेले भने ।
राजनीतिक स्वार्थ र दलीय भागवण्डाका आधारमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाइए आयोगले पीडितलाई न्याय दिन नसक्ने उनले बताए । ‘आयोगलाई नाममा मात्र होइन काममा पनि स्वतन्त्र र निष्पक्ष बनाऔं भन्ने अपिल म यो सम्मानित सदनमा राख्न चाहन्छु’ उनले भने ।
आयोगमा पीडित पक्षको पनि सहभागिता गराउनु उपयुक्त हुने लामिछानेले सुझाव दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij