Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलका नेताहरूले संविधानविपरीत अभिव्यक्ति दिइरहेकोले त्यसको भण्डाफोर गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले सहिदहरूका बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताए।
प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको प्रचण्डको भनाइ छ । ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्,’ प्रधानमन्त्री ओलीलाई लक्ष्य गर्दै उनले भने ।
प्रधानमन्त्री ओलीले बुधबार च्यासलमा आयोजित पोलिटव्युरो बैठकमा प्रचण्डलाई लक्ष्य गर्दै 'एक राउण्ड किक दिएको, असन्तुलित अभिव्यक्ति दिँदैछन्' भन्ने अभिव्यक्ति दिएका खबर आएका थिए ।
'जनयुद्ध'का सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले बताए ।
पटक-पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण 'जनयुद्ध'का सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णय खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको उनले बताए ।
'जनयुद्ध'का सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको उनको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij