Jun 04 2026 | २०८३, जेठ २१ गते
नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिनुभयो ।
सो उद्योगसँग रु चार लाख ५० हजार मागदाबी गरिएको छ । “ती उद्योगको उजुरी पनि परेको थियो र अनुगमन गर्दा कैफियत भेटिएकाले मुद्दा दायर गर्न बाध्य भएको हो” उनले भने । प्रमुख पोखरेलले वाई के ड्रिङिङ वाटर उद्योगविरुद्ध अघिल्लो महिना मुद्दा दायर गरिएको बताए ।
त्यसै गरी गत कात्तिक २५ मा नेपालगञ्ज १८ स्थित क्वालिटी चाउमिन उद्योगले लेबल नलगाई चाउमिन बिक्री गरेको पाइएपछि खाद्य ऐन २०२३ अनुसार तत्काल मुद्दा दर्ता गरेको थियो । बाँके र बर्दिया निरीक्षण गर्दा खाद्य स्वच्छताको प्रतिकुल खाद्य वस्तुमा मिसावट गर्ने, अनुमति पत्र नलिई खाद्य व्यवसाय सञ्चालन गर्ने, प्याक गरिएको खाद्य वस्तुमा लेबल नलगाई बिक्री गर्ने गरिएको पाइएकामा त्यस्ता उद्योगीलाई सचेत गराइएको कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij