Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर जेठ महिनाको अन्त्य सम्म पूरा हुने दावी गरेका छन्।
जेठभरिमा पूरा गरी लगत्तै फ्लाई ओभरबाट सवारी साधन सञ्चालन हुने बताएका छन्। आइतबार विहान फ्लाई ओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरू चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए ।
‘अब पनि ढिलाइ गर्ने छुट छैन,’ मन्त्री दाहालले भने, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ती नआएमा जेठको अन्त्य सम्ममा गाडी चल्नुपर्छ। यो एउटा प्रतीक्षाको आयोजना पनि हो ।’ फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो । फ्लाई ओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक रूपमा देखिएका समस्या र त्यो समस्या समाधान गरिसकेको बताए ।
यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij