Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले योग्यताका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको नेतृत्व हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा नेविसंघले उपकुलपति नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको माग गर्दै परिपत्र जारी गरेको हो ।
परिपत्रमा उल्लेख भएअनुसार, विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत अभीष्ट पूर्तिको उद्देश्यले ऐन विपरीत विनियम, निर्देशिका तथा कार्यविधि निर्माण गरी जारी गरेको विषय नेपालको संसदीय समितिमा छलफलको विषय बन्नु लज्जास्पद रहेको भनिएको छ ।
नेविसंघले पटक-पटक सञ्चालन गरेका शैक्षिक आन्दोलन तथा अभियानहरूको उपलब्धिका रूपमा २०८० मा तयार गरिएको ‘उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि’ लाई लत्याउँदै, पुनः दलीय भागबन्डाका आधारमा नियुक्ति गर्ने षड्यन्त्र भएको गम्भीर आशंका व्यक्त गरिएको छ ।
उक्त कार्यविधिमा रहेका छिद्रहरूलाई सुधार गरी योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुनु पर्ने माग गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij