Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, नक्साल, भाटभाटेनी पूर्वलगायत क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवका अनुसार खानीपानी पठाउनका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले अब चाँडै सो क्षेत्रमा मेलम्चीको खानेपानी पुग्नेछ ।
खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा आज बालुवाटार क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतको ‘पाइपलाइन’ बिछ्याइएको क्षेत्रमा अनुगमन तथा निरीक्षणपछि उहाँले पाइपलाइन बिछ्याउने कार्य सफल भएकाले चाँडै मेलम्चीको खानेपानी वितरण गरिने बताए ।
मन्त्री यादवले भने, ‘बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिछ्याइएको प्राइमरी पाइपलाइन सफलतापूर्वक सम्पन्न गरिएको छ । अब चाँडै मेलम्चीको खानेपानी वितरण गर्छौं ।’
हाल पाइपलाइनको दबाब परीक्षण ‘प्रेसर टेस्ट’ को तयारी तथा कार्यसम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि बालुवाटार, नक्साल (भाटभटेनी पूर्व), टुडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरू गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij