
Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौं । कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा खुद नाफा २ अर्ब ८९ करोड रुपैयाँ थियो ।
नोक्सानी व्यवस्थापनवापत छुट्याइने रकम (इम्पेरिमेन्ट चार्ज) घटेसँगै नाफामा उच्च वृद्धि देखिएको हो । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४५ करोड रहेकोमा गत आर्थिक वर्ष १० करोड ६२ लाख रुपैयाँ छ ।
खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५५ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ८२ करोड छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा छ । यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा ९ रुपैयाँ बढेको हो ।
गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १५.५८ रुपैयाँ हो । बैंकले निष्क्रिय कर्जा घटाउन सफल भएको छ ।
यस्तो निष्क्रिय कर्जा पहिले ३.९१ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म ३.२६ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा बैंकको आधार दर ८.०९ प्रतिशतबाट झरेर ५.८७ मा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ३२८ रुपैयाँ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij