
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । कृष्ण जन्माष्टमीको अवसरमा आज बिहानै देखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा झक्तजनहरुको भिड लागेको छ । आजकै दिन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनहरुको भीड लाग्ने गरेको छ ।
आजको दिन लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको मान्यता छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ ।
आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला र पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij