
Sep 07 2025 | २०८२, भदौ २२ गते
काठमाडौं । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले ललितपुरमा भएको घटनामा आफूले गैरजिम्मेवारपूर्ण कार्य नगरेको दाबी गरेका छन् । नचिनेको स्थानमा सवारी दुर्घटना हुँदा गाडीमा तोडफोड र क्षति हुने डरले नरोकी अगाडि हिँडेको उनकाे भनाइ छ ।
उनले भने, ‘नयाँ ठाउँ र परिवेश भएकाले गाडी रोक्नु उपयुक्त लागेन । आक्रोशित भिडले गाडीमा आक्रमण हुने डरले प्रहरीलाई खबर गरेको हो ।’
शनिवार बिहान मन्त्री मगर एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरीस्थित सनराइज हलतर्फ जाँदै गर्दा हरिसिद्धिमा उनको गाडीले जेब्रा क्रसिङ नेरै बाटो काट्न लागेकी एक बालिकालाई ठक्कर दिएको थियो । घाइते बालिकालाई ललितपुरको बी एण्ड बी अस्पतालमा २ घण्टाको उपचारपछि डिस्चार्ज गरिएको छ ।
मन्त्री मगरले भने, ‘यो सानो दुर्घटना भएको हो । हामी कार्यक्रमतर्फ जाँदै थियौँ। सामान्य गतिमा गाडी अघि बढिरहेको थियो । अचानक एक सानी बालिका गाडीमा अलिकति ठोक्किइन् । तर हाम्रो चालकले तुरुन्तै ब्रेक लगाएकाले ठुलो दुर्घटना भएन ।’
उनले बालिका तुरुन्तै उठेकाले गाडी अलिकति साइडमा लगेर अगाडि बढेको बताए ।
मन्त्री रानामगरले भने, ‘आरोप लगाए जस्तो होइन । ठुलो दुर्घटना भएको हाेइन । बालिकाको अवस्था गम्भीर देखिएको थिएन ।’
उनले नचिनेको ठाउँ भएको र नजिकै कुन अस्पताल छ भन्ने पनि थाहा नभएकाले प्रहरीलाई खबर गरेको बताए ।
उनले थपे, ‘त्यस्तो अवस्थामा आफैँले बालिकालाई उठाएर लगे गलत अर्थ लाग्न सक्थ्यो । त्यसैले प्रहरीलाई जानकारी गरेर प्रशासनकै सहयोगमा उपचार गर्न उपयुक्त ठान्यौँ । हामीले प्रशासन, प्रहरी लगायत सबैलाई जानकारी गराएर गराएका थियौँ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij