Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जिल्लाको शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सेवा प्रवाहलाई नियमित गर्न प्रशासन कार्यालयले निर्देशन दिएको छ । कार्यालय व्यवस्थित गर्न र सम्पूर्ण सरकारी कर्मचारीहरूलाई कार्यालयमा उपस्थित हुन जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गर्दै जिल्लाको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएकाले आजैदेखि कार्यालयको कामकारबाहीलाई व्यवस्थित रूपमा अघि बढाउन आग्रह गरेका हुन् ।
सूचनामा सबै कर्मचारीहरूलाई आ-आफ्नो कार्यालय परिसरको सरसफाइ गर्न र कार्यालयमा भएको क्षति, जलेर वा नष्ट भएका सामग्रीहरूको यथार्थ विवरण संकलन गर्न भनिएको छ ।
मर्मत गरेर पुनः प्रयोग गर्न सकिने र प्रयोगमा ल्याउन मिल्ने सामग्रीहरूको छुट्टाछुट्टै सूची तयार गरी आफ्नो तालुक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, भरतपुर र नारायणगढ बजार क्षेत्रभित्रका इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन पनि प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले सबै कार्यालयहरूलाई आफ्नो अवस्थाको विश्लेषण गरी नियमित रूपमा सेवा प्रवाह सुचारु गर्न आवश्यक आन्तरिक तयारी गर्नसमेत निर्देशन दिएको छ । कार्यालयमा भएको क्षतिको मूल्याङ्कन गरी कानुनी रूपमा दस्ताबेज तयार पार्ने प्रयोजनका लागि छिट्टै थप सूचना सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij