Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने भएको छ ।
सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषदबाट जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका गतिविधि छानबिन गर्न आयोग बनाउने सैद्धान्तिक सहमति गरेको थियो ।
आज साँझसम्म बस्ने मन्त्रिपरिषद बैठकले छानबिन आयोग गठन गर्न सक्ने प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । कसको नेतृत्वमा उक्त समिति गठन हुन्छ भन्ने यकिन भइसकेको छैन । पूर्वन्यायाधीश कसैको नेतृत्वमा आयोग बनाउने तयारी छ ।
भदौ २३ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो। अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।
साथै भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबारलगायत सरकारी कार्यालय, नेताका निजी घरलगायतमा आगजनी भएको थियो । यी सबै घटना छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको तयारी छ ।
जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij