Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल नर्सिङ संघले आह्वान गरेअनुरुप नर्सहरूले आजदेखि कालोपट्टी बाँधेर काम गर्न थालेका छन् । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मागपत्र पेश गर्दै तोकिएको समयभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
नेपाल नर्सिङ संघका अनुसार, मन्त्रालयले असोज २ गते माग सम्बोधनका लागि कार्यदल गठन गरे पनि अहिलेसम्म ठोस कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बनेको हो । संघको प्रतिनिधित्वसमेत रहेको उक्त कार्यदललाई छठ पर्वपछि सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
संघका अध्यक्ष चन्द्रकला शर्मा नेतृत्वको कार्यसमितिले जारी गरेको वक्तव्यअनुसार, संघले असोज २ गते पुनः मागपत्र पेस गरेको थियो । उक्त माग पूरा नभएसम्म आन्दोलन चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ ।
आन्दोलनका कार्यक्रम
१. असोज २ गते — पुनः मागपत्र सहित आन्दोलन तालिका सार्वजनिक ।
२. असोज ४ देखि ११ गतेसम्म — देशभरका अस्पताल र स्वास्थ्य शैक्षिक संस्थामा कालोपट्टी बाँधेर काम ।
३. असोज १२ देखि १८ गतेसम्म — बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा बन्द ।
४. असोज १८ पछि — कार्यदलको प्रतिवेदन अनुसार थप आन्दोलनको कार्यक्रम घोषणा ।
नर्सहरूको ११ बुँदे माग
१. निजि अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सुविधा नेपाल सरकार सरह नघट्ने गरी सुनिश्चित गरियोस् ।
२. दक्ष नर्सिङ जनशक्तिलाई श्रमिक होइन, स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थित पेशाको रूपमा मान्यता दिइयोस् ।
३. रात्रीकालीन, सार्वजनिक विदा तथा चाडपर्वमा काम गरेबापत एक दिन बराबरको तलब र ७० प्रतिशत जोखिम भत्ता दिइयोस् ।
४. आवश्यकता र मापदण्डअनुसार दरबन्दी सिर्जना र कामको व्यवस्था गरियोस् ।
५. शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा नियमित स्तरवृद्धि र बढुवाको व्यवस्था गरियोस् ।
६. सामुदायिक तथा निजी विद्यालयमा नर्सको स्थायी दरबन्दी सिर्जना गरियोस् ।
७. करार तथा ज्यालादारी नर्सहरूलाई स्थायी बनाइयोस्, सक्कल प्रमाणपत्र संस्थाले राख्न नपाउने व्यवस्था गरियोस् ।
८. नर्सहरूको तलब, सुविधा र दरबन्दी मापदण्ड स्वास्थ्य मन्त्रालयको दर्ता तथा नविकरण प्रणालीमा स्पष्ट रूपमा समावेश गरियोस् ।
९. योग्य नर्सहरूलाई स्वास्थ्य संस्थामा प्रमुखको जिम्मेवारी पाउने अवसर दिइयोस् ।
१०. स्वास्थ्यकर्मीहरूलाई प्राविधिक २ ग्रेड यथावत राखी अन्य ग्रेडमा समानता कायम गरियोस् ।
११. ५० भन्दा बढी कामदार भएका उद्योग र कलकारखानामा औद्योगिक नर्सको स्थायी व्यवस्था गरियोस् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij