Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । अष्ट्रेलियाको क्यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले युवतीमाथि बलात्कार गरेको अभियोगमा एक नेपाली युवालाई ३ वर्षको जेल सजाय सुनाएको छ ।
अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाली समाचार संस्था एबीसी न्यूजले उल्लेख गरेको छ ।
युवकले क्यानेबेरामा रहेको एक मलमा आफू काम गर्ने आर्ट पसलमा ग्राहकलाई बलात्कार गरेको अभियोगमा दुई पटक मुद्दा चलाएको थियो ।
समाचारका अनुसार, यो घटना नोभेम्बर २०२२ मा वेस्टफिल्ड बेलकन्ननको आर्ट पसलमा भएको थियो । ग्राहक सामान किन्न आएकी थिइन् । तिमल्सिनाले पसलको सटर लगाए, महिलालाई कामको सर्ट लगाउन लगाए, उनको फोटो खिचे र सहमति बिनै चुम्बन गरे ।
त्यसपछि उनले महिलालाई पछाडिको कोठामा लगे जहाँ महिलाले ‘असफल प्रतिरोध’ गरे पनि उनले दुई पटक बलात्कार र धेरै पटक अश्लील दुर्व्यवहार गरे ।
यता, एटीसी सर्वोच्चका न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले युवतीमाथि बलात्कार गर्ने योजनाबद्ध रूपमा वातावरण बनाएको बताए । उनले पसलको रोलर ढोका बन्द गरेको, ‘स्वतःस्फूर्त’ फोटो खिच्न सुरु गरेको र महिलालाई आफ्नो शर्ट फेर्न आग्रह गरेको उल्लेख गरेको फैसलामा उल्लेख गरेको छ ।
‘पीडित पसलमा बन्द थिइन्, जसले गर्दा उनीमाथि जोखिम बढ्यो,’ न्यायाधीशले फैसलामा लेखेका छन् ।
तिमल्सिना नेपालमा हुर्किएका हुन् । उनी १२ महिनाभन्दा बढी जेल परेमा निर्वासनको जोखिममा पर्ने छन् ।
समाचार अनुसार, यो मुद्दा सकारात्मक सहमति कानून (एसीटी) अन्तर्गत पहिलो परीक्षण हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij