Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । अमेरिकामा जन्मिएका नेपाली मूलका ६४ विद्यार्थी दीक्षित भएका छन्। नेपाली भाषा अध्ययन गर्न चाहाने आधारभूत, मध्यम र उच्च तहका विद्यार्थी लङ आइल्यान्ड नेपाली समाज न्युयोर्कद्वारा सञ्चालित नेपाली भाषा कक्षाको दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।
दीक्षित हुने विद्यार्थीहरूमा आधारभूत तहका ३७, मध्यम तहका १५ र उच्च तहका १२ जना छन् । दीक्षित विद्यार्थीहरूले संस्कृत श्लोक, नेपाली राष्ट्रिय गान, पियानो प्रस्तुति, भजन , नृत्य र फोहर व्यवस्थापनलगायत नेपाली भाषामा आफ्ना प्रस्तुति दिएका थिए ।
दीक्षान्त समारोहमा अतिथि शिवप्रसाद मैनाली, विशाल रेग्मी, एनआरएनए उपाध्यक्ष दिवाकर पाण्डे, न्यु न्युयोर्क च्याप्टरका दण्डपाणि लामिछाने (वासु), लङ आइल्यान्ड च्याप्टरका जन सम्पर्क समितिका श्याम पौडेललगायतले मन्तव्य राखे ।
सन् २०१० मा लङ आइल्यान्ड नेपाली समाज न्युयोर्कले स्थापना कालदेखि नै सामुदायिक गतिविधि, सामाजिक–सांस्कृतिक एकता र भाइचारालाई कायम राखी विदेशी भूमिमा नेपाली संस्कृति प्रवर्धन गर्दै आएको अध्यक्ष कुलप्रसाद गौली (राजन) ले बताए ।
शिक्षकलाई सम्मान
दीक्षान्त समारोहमा ९ जना शिक्षक र अन्य स्वयम् सेवकलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा सावित्रा शिवाकोटी, इन्दिरा सिंखडा, सुनिता खनाल, रुपा भण्डारी, सुस्मिता भण्डारी, झर्ना शर्मा, सम्झना खड्का (न्यौपाने), अम्बिका फुँयाल, डा. मेदनीप्रसाद सङ्ग्रौला छन् ।
स्वयंसेवकहरु डा. हरि दाहाल, केदार कट्टेल, अनु कट्टेल, रविन सङ्ग्रौला, शोभा पोखरेल श्रेष्ठ र कृष्टिना दाहाललाई समेत सम्मान गरिएको छ । मातृभाषामा दोहोरो संवाद गर्न सक्ने गरी शिक्षकहरूले अमेरिकन नेपाली बालबालिकाहरुको सिकाइ विकास गरेको संस्थाका महासचिव राजेन्द्र कार्कीले जानकारी दिए ।
सुरुका केही समय भौतिक कक्षामा सञ्चालन गरिएको यो कक्षा हाल अनलाइनबाट सञ्चालन गरिएको महासचिव कार्की बताउँछन् । अनलाइनमा गएपछि व्यवस्थित पाठ्यक्रम, शिक्षक-शिक्षिका, मूल्यांकन प्रणाली, आवधिक परीक्षा र अभ्यास गराइने भएकाले शिक्षण सिकाइको गुणस्तर बढेको कार्कीले बताए ।
दीक्षान्त समारोहलाई आईटी विज्ञका रुपमा सचिव दीपक अधिकारीले संयोजन गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij