Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले ओलीलाई नै भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिने निर्णय गरेको हो।
एमाले सचिव महेश बस्नेतका अनुसार बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने सर्वसम्मत निर्णय भयो। "सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ," उनले भने, "नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन र थप सुदृढ बनाउन पार्टी दृढतापूर्वक लाग्नेछ।"
भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध सुशासनको माग राखेर जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलन पश्चात् पूर्ण कार्यकाल अगावै प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। तत्कालीन ओली सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णयले आन्दोलनलाई थप प्रश्रय पाएपछि सुरु भएको प्रदर्शनमा ठूलो जनधनको क्षति भयो। 'जेनजी' आन्दोलनका कारण सत्ताच्युत भएका ओलीलाई नै पार्टीले पुनः नेतृत्वको विकल्पका रूपमा प्रस्तुत गरेको छ।
एमालेले ओलीलाई उनको गृह जिल्ला झापा- ५ बाटै उम्मेदवार बनाउने निर्णय गरेको छ। केही बाहेक एमालेले अधिकांश क्षेत्रको उम्मेदवार टुंगो लगाइसकेको छ। यद्यपि उम्मेदवार चयनमा एमालेभित्र तीव्र मतभेद देखिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij