Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बंगलादेशका पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई सन् २०२४ को हिंसात्मक सडक आन्दोलन क्रममा उनीहरूको कथित भूमिकाका लागि सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ ।
उक्त आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता पतन भएको थियो ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणका न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दरको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले पूर्व ढाका मेट्रोपोलिटन प्रहरी (डिएमपी) आयुक्त हबीबुर रहमान, पूर्व डीएमपी संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उप–आयुक्त मोहम्मद अख्तरूल इस्लामलाई मृत्युदण्ड सुनाएको भारतीय अखबार ’द हिन्दु’ ले लेखेको छ ।
यसअघि पुनर्गठित अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइसकेको थियो । यो उक्त न्यायाधिकरणको दोस्रो फैसला हो ।
मृत्युदण्ड पाएका तीन पूर्व प्रहरी अधिकारी र सहायक आयुक्त इमरूललाई अनुपस्थितिमै मुद्दा चलाइएको थियो । न्यायाधीकरणले यसअघि उनीहरूलाई फरार घोषणा गरेको थियो । अन्य अभियुक्त भने अदालतमा उपस्थित भएर मुद्दा लडेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij